पर्सा,७ असार ।पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले पालिका सञ्चालनको क्रममा गर्ने गरेको अनियमितता लुकाउन एवं भ्रष्टाचार ढाकछोप गर्न दर्ता रजिष्टरमै चलखेल गरेको प्रमाण भेटिएको छ ।
गाउँपालिकामा हुने गरेको भ्रष्टाचार एवं गोरख धन्दालाई मिलाउनकालागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका सञ्चारकर्मीलाई आर्थिक बर्ष २०७७÷७८ मा सञ्चालनमा रहेको बिकास निर्माण सम्बन्धी कुनै कागजात नरहेको कर्मचारीले बताए ।
कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको फेला परेको हो । गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गतेसम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिएपनि दर्ता नं. ११२२ दर्ता नगरी खाली ठाउँ राखिएको छ ।
त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धी पत्र दर्ता गरिएको छ । त्यसपछि पुनः मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धी पत्र दर्ता गरिएको छ ।
तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खाली राखेर अर्को दर्ता गरिएको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धी पत्र दर्ता गरिएकोे छ । त्यसको बीचमा पनि केही दर्ता नं. को खाली ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको पुष्टि हुन्छ ।
किन दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गरिएको हो ? भन्ने बारे प्रश्न गर्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेनन् । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग बुझ्न ९८५५०११११८ नम्बरमा पटक – पटक सम्पर्क गर्न खोज्दा फोन उठेन ।
आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ । यि त उदाहारणका पात्र मात्रै हुन्, यस्ता भ्रष्टाचार एवं गोरख धन्दा धेरै हुने गरेको स्थानीयहरुको भनाइ छ ।
गाउँपालिकामा सञ्चालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेबसाइटमा पनि राखिएको छैन । उक्त सूचनाहरु गाउँपालिकाको कार्यालयमा पनि नरहेकोे सूचना अधिकारी अमित चौरसियाले बताए ।
विकास निर्माण सम्बन्धि भएका टेन्डर तथा ठेक्काहरुको सूचना आफुकहाँ आएको छैन् । प्रमुख प्रशासकिय अधिकृतलाई सबै सूचनाको बारेमा जानकारी छ । गाउँपालिकाका सूचना अधिकृत अमित चौरसियासँग सूचना माग गर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने –‘सम्पूर्ण योजना बारे जानकारी हाकिम साहेब संग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउनु हुन्छ ।
कार्यालय प्रमुख, प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसँग बुझन खोज्दा उनको कार्यालयमा पन्ध्र दिनदेखि ताल्चा लगाइएको छ । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन । कार्यालयका योजना तथा अनुगमन प्रमुख सुनिल कुमार चौरसिया समेत कार्यालयमा उपस्थित थिएन ।
गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनकोलागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेपनि छानविन हुन नसकेको स्थानीयहरुको आरोप छ ।