मगर समुदाय र भूम्या पर्व

  दीपा आलेमगर  444 पटक हेरिएको

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान र अस्तित्व बोकेको सुन्दर शान्त र प्रकृतिमय देश हो । जहाँ सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिहरुको आफ्नै पहिचान र अस्त्तिव छ अनि तराई, पहाड र हिमालको आफ्नै मौलिकपन र चिनारी छ । विविधता भित्र एकताको मालाले गाँसिएर समाजमा बसोबास गर्दै आएका छन् । सबै जातजातीका आआफ्नै भाषा, धर्म संस्कृति र पहिचान छ । ती पहिचाननै राष्ट्रको गहना हुन् ।

प्रसंग यति बेला नेपाली समुदाय भित्र पर्ने मगर जातीको भूम्या पर्व हाम्रो घर आँगनमा छाउन थालेको छ । यो पर्वलाई मनाउनकोलागि १ महिनादेखि तयारी गर्नुपर्छ । हरेक वर्ष असार महिनाको १ गते भूमि देउतालाई पुजा गरेर यो पर्व मनाउने चलन छ । गत वर्ष पनि कोरोना भाइरसको संक्रमणले गर्दा भूम्या पर्व मनाउन पाएनन् भने यो वर्ष पनि कोरोना भाइरसको कारणले गर्दा फरक तरिकाले मनाउनु पर्ने अवस्था सिर्जना भएको छ । तर पनि मगर समुदायहरु जहाँ जुन ठाउँमा बसोबास गरेपनि यो भूम्या पर्वलाई भने मनाउदै आएका छन् चाहे आजभोलिको प्राविधिक क्षेत्रलाई प्रयोग गरी शुभकामना आदानप्रदान गरेर भए पनि यो पर्वलाई मनाउने क्रमजारी छ । कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम गर्नु पर्ने भएको हुँदा पनि गत साल र यो साल एकै ठाउँमा भेला भई भूमि देउतालाई पुजा गरी नाचगान गरेर मनाउन भने सकिरहेको छैन । तर विगतमा भने मगर समुदायहरु एक ठाउँमा भेला भएर भूमिको पुजा गरेपछि नाचगान गरी हर्षउल्लासका साथ मिठा मिठा खानेकुरा खाएर एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाउने गर्दथ्यो ।

गएको वर्ष र यो वर्ष भने सबैले आफ्नै घरभित्र रहेर सामाजिक दुरी कायम गरी भूम्या पर्व मनाउनु पर्ने बाध्यता छ । किन कि समय भन्दा बलवाल मानिसको हातमा छैन । यति बेला नेपालमा मात्र होईन विश्वभर कोविड (१९) कोरोना भाइरसको संक्रमणबाट मानिसहरुले आफ्नो ज्यान बचाउनु नै ठूलो कुरो हो । यदि यस्तो अवस्थामा अलिकति पनि लापरवाही गरयो भने मानिसको ज्यान जान सक्छ । यही कोविडकै कारणले गर्दा आज लाखौं मानिसको ज्यान गईसकेको हामी सबैलाई अवगत नै छ । भूम्या पर्व मात्र होइन विश्वमा कोरोना भाइरस फैलिएपनि हामी नेपालीले मनाउने अन्य ठूला ठूला चाड पर्व पनि खुलेर मनाउन पाएका छैनौ । विगतमा जसरी चाडपर्वहरु मनाउने गरिन्थ्यो तर कोविड फैलिसकेपछि चाहेर पनि खुलेर मनाउन सक्ने अवस्था छैन । सबैको ध्यान पहिलो प्राथमिकता कसरी यो समयमा प्रत्येक मानिसले आफ्नो ज्यान बचाउनु भन्ने प्रमुख दायित्व रहेको छ ।

हुन त चाडपर्व हामी सबै नेपालीहरुकोलागि समान मात्र होइन महत्वपूर्ण छ तर विशेष गरी यो भूम्या पर्व मगर जातीका पूर्खाले सदियौंदेखि मनाउदै आएको हुनाले यो पर्वलाई मगरका सन्तानहरुले विशेष रुपमा मनाउने गर्दछन् । तर समय परिवर्तनशील हुदै गर्दा कतिपय मगर समुदायका युवायुवतीहरुलाई यो पर्व कसरी मनाईन्छ भन्ने विषयमा जानकारी छैन । विशेष गरी हिजोको दिनमा बाध्यताले गर्दा हिमाल र पहाडबाट बसाई सराई गरी तराई झरेका मगर समुदायलाई भूम्या पर्वको बारेमा त्यति जानकारी छैन । जसले गर्दा उनीहरुले यो पर्वलाई खासै महत्वका साथ मनाउने गरेको पाईदैन । कहिकतै भने असार १ गते खेतमापुजा गरेको पाईन्छ । तराई तिर पनि खेतमा गएर पुजा गर्ने चलन छ । त्यसो भए यो नेपालको कुन कुन जिल्लाका मगर समुदायले मनाउदै आएका छन् त ? यो पर्व मनाउनुको मुख्य कारणहरु के के हुन् ? यो भूम्या पर्व मनाउँदाको उपयोगी पक्षहरु के के छन् त ? किन मगर समुदायका पूर्खाहरुले यो पर्व मनाउन बाध्यकारी भए ? भूम्या पर्वको महत्व के छ ? यी विविध विषयमा आजका नयाँ पुस्ताहरुलाई कमै मात्र जानकार हुन सक्छ । विगत देखि आजसम्म आईपुग्दा आफ्नो पुर्खाले संरक्षण र संबद्धन गरेको चाडपर्वहरु दिनदिनै लोप हुन थालेका छन् भने कतिपय चाडपर्वहरुलाई हिजोको शासकहरुले बन्देज लगाई दिएको कारण पनि आजका नयाँ पुस्ताहरु त्यस विषयमा अनविज्ञ हुन बाध्य भएका हुन् ।

भूम्या पर्व किन मनाईन्छ ? यस विषयमा हामीले खोजविन गर्न आवश्यक छ । हुन त सबैको हकमा यो पर्व लागु नहुन पनि सक्छ तर जस जस सँग यो भूम्या पर्व सम्बन्धीत छ ति समुदायहरु आफ्नो भाषा, धर्म, संस्कृति, चाडपर्वहरुको बारेमा जानकारी राख्नु पर्छ । किन कि मानिसको पहिचान र अस्त्तिव उसको मौलिकपनले झल्काउने गर्दछ । त्यसो भए साँच्चै नै भूम्या पर्व भूमि पर्व भनेको के हो त ? वास्तवमा भन्नु पर्दा स्यम लेखिकालाई पनि भूम्या पर्वको बारेमा अध्ययन गरेर नै थाहा पाएको हो । स्यम नेपाल मगर विद्यार्थी संघको अध्यक्ष भएर काठमाडौं आईसकेपनि भूम्या पर्वको दिन मनाईने सामुहिक कार्यक्रममा निमन्त्रणा गरेपछि त्यस कार्यक्रममा सहभागी भएपछि मात्र केही हदसम्म जानकारी भएको हो । विगतका दिनमा संस्कृति विज्ञ एवंम आदिवासी जनजाति महिला नेत्री बम कुमारी बुढामगर दिदीले भूम्या पर्वको कार्यक्रममा निमन्त्रणा गर्नु भएको हुनाले पनि प्रत्यक्ष यस कार्यक्रमको बारेमा नजिकबाट बुझन पाएको हो । हुन त भूम्या पर्वको बारेमा अभिलेख लेख्दै गर्दा यस विषयमा पोख्त त होइन तर पनि आफूले प्रत्यक्ष कार्यक्रममा सहभागी भई बुझेका विषय वस्तु र यस सम्बन्धी विषयमा अध्ययन गरेर नै लेख्ने प्रयास गरेको हो जसले गर्दा यो पर्वको बारेमा नयाँ पुस्ताले जान्न सकुन र यसको संबद्धन र संमक्षण पनि गर्न सकोस भन्ने उद्देश्य रहेको छ । भनिन्छ नि थोपा थोपा पानी मिलेर समुन्द्र भनिन्छ भने झै सानो सानो प्रयासले पनि भोलि नेपालमा मनाईने सबै भाषा, धर्म, संस्कृतिको संमक्षण र संबद्धन गर्न राज्यलाई कुनै संकोस नलागोस् । असार १ गते बनाईने भूम्या पर्व जसले हामी नेपालीहरुको जीवनमा उत्साह उंमग, मेलमिलाप, सद्भाव र सकारात्मक मार्ग देखाउने काम पनि गर्दछ ।

मगर समुदायका पुर्खाहरुले कसरी भूम्या पर्व मनाउदो रहेछ त यसबारेमा चर्चा गरौं । विशेष गरी यो पर्व भूमि देवताको पुजा गरेर मनाउने चाडको रुपमा लिने गरिन्छ । रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार महिनाको ५ गतेसम्म हर्षउल्लासका साथ मनाउने गरेको पाईन्छ । यो पर्व मनाउनुको प्रमुख कारण प्राकृतिक प्रकोपहरु आइनपरोस्, रोग नलागोस, आफूले उब्जाएको अन्नबाली राम्रोसँग फस्टाउन सकोस् र सबै तिर सुखशान्ति होस् भनेर आफूले बसोबास गर्दै आएको भूमिको पुजा गरी हाम्रा पुर्खाहरुले यो पर्व मनाउदै आएका रहेछन् । अनि उनीहरुको सन्ततीले यस पर्वलाई आजका दिनसम्म पनि धुमधामसँग मनाउदै आएको पाईन्छ । विगतका दिनहरुमा रिडी नदी पारीका अधिकांश मगर समुदायको मुख्य पेशा नै भेडा पालन थियो । उनीहरु लामो समय घरदेखि टाढा बसेर भेडा चराउने गर्दथे । त्यसपछि उनीहरु असारको महिनामा भेंडा लिएर घर फर्किने गर्थे । यसरी उनीहरु लामो समयपछि आफ्नो घरपरिवारसंग भेटघाट तथा दुःखसुखको कुराकानी गरेर खुशी हुन्थे । जसले गर्दा लामो समयपछि परिवारमा खुशीयाली बातावरणले छाउने गर्दथ्यो । त्यसैले गर्दा यो पर्वलाई पारिवारीक मिलनको चाडको रुपमा पनि लिने गरिन्छ ।

विविधता भित्र एकताको मालाले गाँसिएको नेपाल भूमिमा यो पर्वको पनि अन्य चाडपर्व जतिकै महत्व छ । मगरहरु हुन त देशको सबै जिल्लामा बसोबास गर्दै आईरहेका छन् तर विशेष गरी यो भूम्या पर्व प्रदेश नम्मर ५ र प्रदेश नम्मर ४का मगर समुदायले मनाउदै आएका छन् । पछिल्लो समय देशमा प्रजातन्त्र आईसकेपछि आफ्नो भाषा, धर्म, सस्कृति र पहिचानलाई जगेर्ना गर्न पाउने अधिकार पाएपछि मगर समुदायका अग्रजहरु संगठीत भएर आफ्ना गुमेका पहिचानहरुलाई जिवन्त दिन संगठीत भएर विभिन्न स्थानहरुमा यो पर्वलाई मनाउदै आएको छ । पछिल्लो पटक मगर समुदायको सिंगो संगठन नेपाल मगर संघ केन्द्र र यसका भातृ संघसंस्था र विदेशमा रहेका मगर संघ संस्थाहरुले पनि यो पर्वलाई जगेर्ना गर्नकोलागि मनाउदै आईरहेको पाईन्छ । विशेष गरी यो भूम्या पर्व मनाउनकोलागि म्याग्दी बाग्लुङ सल्यान, प्युठान, रोप्पा, दाङ, रुकुम लगायतका जिल्लामा बसोबास गर्ने मगर समुदायले मनाउदै आइरहेका छन् भने अन्य जिल्लाका मगर समुदायले पनि जानेबुझेसम्म पुजा गरेर भएपनि यो दिनलाई स्मरण गरेको मगर समुदायका विज्ञहरुको भनाई छ । मगर संघले प्रायः भूम्या पर्व काठमाडौंको टुडिखेलमा भब्य रुपमा पनि मनाउदै आएको विगतको कार्यक्रमले स्मरण गराउँछ ।

अतः इतिहासको कालखण्डमा शासकवर्गले आफ्नै देशका जनताहरुको भाषा, धर्म, संस्कृति र पहिचानलाई नामेट पार्ने प्रयास त गरे तर पुरै नामेट पार्न भने सकेन । किन कि त्यो विर गोरखाली पुर्खाको पहिचान र अस्त्तिव थियो । जसले गर्दा विगतको त्यो समयमा हाम्रा पुर्खाहरुले शासकवर्गको डरत्रासमा बाँचेपनि आफ्नो मौलिकपनलाई मर्न दिएनन् । समय परिवर्तन सँगै देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि आज सबै जातजातिहरुले आफ्नो पहिचान र अस्त्तिवमा बाँच्न पाएका छन् । आफ्ना चाडपर्वहरु मनाएर खुशी हुन पाएका छन् । लामो समयको अन्तरालपछि हामीले हाम्रो पहिचान र अस्तित्वलाई आत्मासात गर्न पाएका छौं ।

त्यसैले अब मगर तथा गैरमगर समुदायका नयाँ पुस्ताहरुले आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई बचाउन सक्रिय भएर लाग्नुपर्छ । जबसम्म हामी आफै आफ्नो पहिचान र अस्त्तिवकोलागि सचेत र जागरुप हुदैनौ तबसम्म अरुले देला र खाउला भन्ने दिवा सवप्न देख्नु मुर्खता मात्र हो । त्यसकारण देशविदेशमा बसोबास गर्ने आम मगर समुदायहरु आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण र सम्बद्धन गर्नकोलागि एकताबद्ध हुन जरुरी छ । साथै विविधता भित्र एकताको सुन्दर मालामा गाँसिएर यो देशलाई सुन्दर, शान्त र समृद्धि बनाउन हामी सबै नेपालीहरु एक अर्काको भावनालाई आदारसम्मान गर्दै सबैको मौलिकपनलाई जेर्गर्ना गर्न सक्यौ भने हाम्रो पहिचान र अस्तित्वले भोलिका दिनमा नेपालमा मात्र नभई विश्वमा संस्कृतिको धनि देशको रुपमा चिनिने मौका पाउने छौं । अन्तिममा असार १ गते मनाईने मगर समुदायको महान चाड भूम्या पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई हर्दिक मंगलमय शुभकामना । फोटो=फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार