जिङलाउका चेपाङले पाए राहत, एक हप्तापछि फेरि के खाने भन्ने चिन्ता नै

  रमेश रानामगर  222 पटक हेरिएको


चितवन २८ जेठ । चितवनको कालिका नगरपालिका वडा नम्बर १० जिङलाउका चेपाङहरुले शुक्रबार राहत पाएका छन्। भोकमरीको चपेटामा परेका चेपाङ समुदायलाई अष्ट्रेलियाबाट लेख गुरूङ र सुनिल श्रेष्ठ, हङकङबाट डिम्पल मगर र नेपालबाट प्रीज्मा आलेमगर र सुनिल केसीले सहयोग गरेपछि जिङलाउका चेपाङले राहत पाएका हुन्। केही दिनअघि चितवनका पत्रकारहरुको टोलीले स्थलगत समाचार संकलन गरेर फर्किएपछि देश विदेशबाट केही रकम सहयोग जुटेको हो। चितवनबाट पत्रकार रमेश रानामगरको पहलमा उक्त रकम संकलन भएपछि शुक्रबार चेपाङ अभियन्ता केपीकिरण शर्मासँगै केही पत्रकारसहित पाइमाराङ खोला पुगेर जिङलाउका २५ घर चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

प्रतिघर परिवार एक बोरा चामल, दुई लिटर खाने तेल, एक किलो नुन र सोयाविन वितरण गरिएको कार्यक्रम संयोजक रमेश रानामगरले जानकारी दिए। जंगली कन्दमुलको भरमा दिन बिताउन बाध्य चेपाङको पीडाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि सोही आधारमा सहयोग जुटेको थियो। विकट बस्तीका चेपाङ समुदाय यतिबेला भोकमरीको चरम समस्यामा छन् ।

अभावैअभावका बीचमा जंगली कन्दमुल खाएर भोक मार्दै आएका चेपाङले शुक्रबार राहतवापतको खाद्यान्न पाए पनि ठूलो परिवार भएकोले एक हप्ताभन्दा बढी नहुने स्थानीय यमप्रसाद चेपाङले बताए। ‘एक हप्तापछि फेरि उही अवस्था हो,’ उनले भने, ‘तर, एकहप्ताको लागि भने पनि चेपाङको पेटमा भोक मर्ने भयो।’ यसपछि कुनै दाता नआए फेरि जंगली कन्दमुल नै खोज्नुपर्ने बाध्यता रहेको उनले बताए ।

विकटका चेपाङको समस्याबारे सरकारी क्षेत्रबाट खासै चासो नदिँदा हरेक वर्ष भोकमरीको समस्या झेल्न बाध्य छन्। सरकारी क्षेत्रबाटै समाधानको सिर्जना नहुँदा समस्या हरेक वर्ष दोहोरिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार