कोरोना हटस्पट बनेको वीरगन्जमा संक्रमण दर र संक्रमितको संख्या घट्दै

  दिपक चौरसिया  69 पटक हेरिएको

पर्सा २५ जेष्ठ । कोरोनाको दोश्रो लहरमा पनि हटस्पट बनेको वीरगन्जमा कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुँदै गएको छ । जस कारण अस्पताल र आइशोलेसन सेन्टरमा शैय्या पनि खाली हुँदै गएका छन् । बैशाख अन्तिम सातादेखि निरन्तर घट्दै गएको संक्रमण दर जेष्ठ तेश्रो सातायता ५ प्रतिशतमा झरेको छ ।

जेष्ठ दोश्रो साता ३१ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर घटेर अहिले ५ प्रतिशतमा झरेको हो । दोश्रो लहर सुरु भएपछि वीरगन्जमा बैशाख दोश्रो र तेश्रो साता तिर संक्रमण दर ह्वात्तै बढेर ७५ प्रतिशत भन्दा माथि पुगेको थियो ।

बैशाख १६ गते देखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण दर संक्रमितको संख्या घट्दै गएको हो । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो एक हप्तायता गरिएको पीसीआर परीक्षणमा संक्रमण दर औसतमा ५ प्रतिशत रहेको अस्पतालका चिकित्सक उदय नारायण सिंहले जानकारी दिए ।

लामो समयदेखि उपचारर्थ रहेका विरामी मध्ये ८ जना आईसियुमा र अन्य हाईफलो अक्सिजनमा राखिएर उपचार गर्ने काम भईरहेको छ । पहिलाको तुलनामा ७५ प्रतिशत भन्दा बढी संक्रमितको संख्या घटीसकेको उनले बताए । संक्रमित घटदैमा जोखिम छैन भन्ने छैन, यसमा अझै सावधानी अपनाउँन आवश्यक रहेको उनले बताए ।

दोश्रो लहरमा बैशाख १५ देखि जेष्ठ २४ सम्म पर्सा जिल्लामा २ हजार ५ सय ९२ जना कोरोना संक्रमणबाट मुक्त भइ निको भएको छ । एक सातायता कोरोनाले हुने मृत्यु दर पनि घट्दै गएको छ ।

जेष्ठ तेश्रो सातायता दैनिक औसत ५ जनाको मात्र मृत्यु भइरहेको र तीमध्ये पनि पर्सा जिल्लाका भन्दाअन्य जिल्लाका धेरै रहेका छन । दोश्रो लहर सुरु भएपछि वीरगन्जमा चैत ३० देखि जेष्ठ २४ सम्म वीरगन्जका विभिन्न अस्पतालमा गरी २९७ जनाको मृत्यु भएको छ । तीमध्ये पर्सा जिल्लाका १३१ जना मात्र रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

पर्सा जिल्लामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि बैशाख १६ गते देखि लगाइएको निषेधाज्ञा जेष्ठ ३० गते सम्मका लागि लम्ब्याइएको छ । संक्रमणको चेन ब्रेकमा निषेधाज्ञा उपयोगी देखिएकाले संक्रमण अझै कम गर्न जेष्ठ ३० गते सम्मका लागि निषेधाज्ञा थपिएको उनले बताए ।

संक्रमण दर र संक्रमितको संख्या निरन्तर कम हुँदै गएर अवस्था सुधारोन्मुख देखिएको भन्दै वीरगन्ज महानगरपालिकाले असार १ देखि महानगरका विद्यालयहरु सन्चालनमा ल्याउने निर्णय गरेको छ । यद्यपि शिक्षक र अभिभावकले भने संक्रमणको जोखीम अझै नटरेकाले महानरको विद्यालय खोल्ने निर्णयको विरोध गरेका छन् ।

चिकित्सकरुले पनि अस्पताल र आइशोलेसन सेन्टरहरुमा गम्भीर खालका बिरामीको संख्या घट्दै गए पनि संक्रमणको जोखिम भने नटरेको बताएका छन् । नारायणी अस्पतालका डाक्टर निरज सिंहले भने,‘ अवस्था धेरै सुधारोन्मुख छ, तर अहिले नै सबै कुरा सहज भइ सक्यो भनेर सोचियो भने घातक हुन सक्छ ।’

उनले संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रतिमको संख्याका साथै मृत्यु दर पनि घटेको तर जोखीम भने कायमै रहेकाले सावधानी अपनाउन आवश्यक नै रहेको बताए । अस्पताल र आइशोलेसनमा गम्भीर खालका बिरामीको संख्या घट्दै गएको छ तर संक्रमणको जोखिम भने अझै टरेको छैन, त्यसैले सुरक्षाको मापदण्ड अपनाउँन आवश्यक छ ।

कोरोना संक्रमतिको उपचारका लागि अस्पताल र आइशोलेसन सेन्टरमा गरी ७ सय ३१ शैय्याको व्यवस्थापन गरिएको छ । तर अहिले ती सबैमा गरी १३३ जना मात्र संक्रमित भर्ना छन् । बाँकी ५ सय ९८ शैय्या खाली रहेको छ ।

अहिले वीरगन्जका अस्पतालहरुमा एचडियुमा ७३ जना, आइसियूमा ४० र भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत छन् । यस्तै होम आइशोलेसनमा ४ सय ८५ जना मात्र संक्रमित रहेको छ । कुल सकृय संक्रमित ६ सय १८ जना मात्र छन् । जेष्ठ दोश्रो सातामा भने सक्रिय संक्रमित १ हजार ६ सय भन्दा बढी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार