खोप लिएकाबाट अरूलाई कोरोना सर्ने सम्भावना उच्च

काठमाडौं, १३ बैशाख । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएकाबाट कोरोना सर्ने जोखिम कायमै रहेको छ । परिवार कल्याण महाशाखा तथा विज्ञका अनुसार यी खोपको डोज लिएकाबाट अरुलाई संक्रमण हुने सम्भावना उच्च रहेको छ ।

नेपालमा हालसम्म करिब २० लाखजनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जनाले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशतले खोप लिएका छन् ।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरूबाट अरूलाई सर्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ। खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहने बताइएको छ ।

संक्रमणको जोखिम कायमै रहेकाले खोप लिएका व्यक्तिहरूले पटकपटक साबुनपानीले हात धुने, दुई मिटर भौतिक दूरी कायम राख्ने, सेनिटाइजरको प्रयोग गर्ने र भीडमा नजानेजस्ता मापदण्ड पालना गर्नुपर्नेछ। दोस्रो यो खोपले कति अवधिका लागि शरीरमा एन्टीबडी बनाइरहन्छ भन्ने विषय अध्ययनकै क्रममा रहेकाले पनि खोप लिएका व्यक्तिले मादपण्ड पालना गर्नुपर्छ।

विज्ञका अनुसार खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुन्छ। खोप लिएकाहरूमा संक्रमण भए पनि गम्भीर बनाउने र अस्पताल भर्ना हुनेसम्मको समस्या हुँदैन। तर यस्ता व्यक्तिमा कोरोना भाइरस संक्रमण भए परिवारका अन्य सदस्य तथा समूहमा सार्ने भएकाले पनि अहिलेको अवस्थामा झनै सुरक्षित रहनुपर्ने आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार