शीर्ष स्थानमा रहदै नेपाल फाइनलमा

काठमाडौं, ९ बैंशाख । आयोजक नेपाल शीर्ष स्थानमा रहदै घरेलु मैदानमा जारी त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको दोस्रो लिगको अन्तिम खेलमा मलेसियालाई ६८ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

 

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । खराव सुरुवात गरेको मलेसियाले पहिलो तीन ओभरमा नै दुई विकेट गुमाइसकेको थियो । पहिलो ओभरको चौथो बलमा साद अजिजलाई गुमाएको मलेसियाले तेस्रो ओभरको तेस्रो बलमा अनवर अरुदिनलाई गुमायो ।

अजिजलाई सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए । अर्का ओपनर अरुदिनलाई सोमपालले नै आफ्नो स्पेलको दोस्रो ओभरमा कटविहाइन्डमा करण केसीको हातबाट क्याच आउट गराएका थिए ।मलेशियाका लागि अमिनुद्धीनले सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै फाइजले २१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३१ रन बटुले । नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए ।

 

सोमपालले चार ओभर बलिङ गर्दै मात्र २० रन खर्चेर तीन विकेट लिएका हुन् । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशलले १२ बलमा २ छक्का सहित १६ रनको योगदान दिए । त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए । तर, उनी १२ औं ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा लङअनमा क्याच आउट हुन पुगे ।\

नेपालका लागि छैटौं विकेटको रुपमा मैदानबाट बाहिरिएका करण केसीले निकै नै आक्रमक ब्याटिङ गर्दै ४५ रन जोडे । उनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन जोडेका थिए । आसिफ शेखले ३ चौका र छक्काको मद्दतमा ४२ रनको योगदान दिएका थिए । कप्तान मल्लले २५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडे । मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । अब नेपालले उपाधिका लागि शनिबार फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार