नारायणी अस्पतालको आकस्मिक कक्षमा अन्य विरामी सहित कोरोना संक्रमित एवं आशंकित विरामीहरुको एकै ठाउँमा उपचार

  दिपक चौरसिया  94 पटक हेरिएको

वीरगंज (पर्सा), ८ वैशाख । वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा कोरोना संक्रमित र अन्य विरामीहरुको पनि एकै ठाउँमा उपचार भइरहेको छ । अस्पतालको व्यवस्थापनमा कमजोरी एवं जनशक्ति र स्थान अभावको कारण आकस्मिक कक्षमै कोरोना संक्रमित, संक्रमणको आशंकित एवं अन्य विरामीहरुको उपचार एकै ठाउँमा भइरहेको छ ।

विगत दुई तीन हप्तायता वीरगंज लगायत पर्सा जिल्लामा नै कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको अवस्थामा उपचारका लागि गएका अन्य विरामीहरुलाई पनि संक्रमितहरु राखिएको कक्षमै उपचार भइरहेको कारण संक्रमण झनै फैलिन सक्ने सम्भावना बढेको छ । कोरोना संक्रमितको आशंकित एवं पुष्टि भएका विरामीहरुको साथमा आएका कुरुवाहरु पनि विरामीसँग बसेर उनकै उपचारमा चाहिने सामान एवं चेकजाँचका लागि स्वाब ल्याउने, लैजाने, खुलेयाम अस्पताल परिसरमा घुम्ने गरेको कारण पनि अस्पतालबाटै संक्रमण फैलिन सक्ने सम्भावना अत्याधिक बढेको छ ।

कोरोना आशँकित विरामीहरुलाई आकस्मिक कक्षमा राखेर स्वाब संकलन गर्ने, परीक्षण गर्ने एवं पुष्टि भएपछि मात्रै आइसुलेशनमा लैजाने गरेको छ । तर त्यसभन्दा अघि औपचारिक रुपमा संक्रमण पुष्टि हुनु अगावै संक्रमितका कुरुवाहरु मार्फत अस्पतालका अन्य विरामीहरुलाई पनि संक्रमण फैलि रहेको छ । कोरोना संक्रमितहरुको उपचारका लागि नारायणी अस्पतालमा बनाइएको २५ वेडको आइसियूमा संक्रमितहरु बढ्दै गएको कारण तत्काल आउने विरामीहरुलाई आकस्मिक कक्षमै राखेर चेकजाँच एवं उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले जानकारी दिए ।

उनका अनुसार आकस्मिक कक्षलाई विभिन्न भागमा बाँडफाँड गरेर संक्रमणको आशंकित विरामीहरुलाई एउटा केबिनमा राख्ने र अर्को केबिनमा अन्य विरामीहरुलाई राखेर उपचार भइरहेको जानकारी दिए । तर त्यहाँका कार्यरत केही स्टाफहरुले तत्काल व्यवस्थान गर्न नसक्दा संक्रमित एवं संक्रमणको आशंकितहरु छुट्टै केबिनमा राख्नुपर्नेमा हतार हतारमा विरामीहरु आउने गरेको कारण छुट्याउन नसकेर भद्रगोल हुन सक्ने बताए । पानी एवं विरामीहरुलाई चाहिने सामानहरु ल्याउनका लागि संक्रमितहरु पनि आकस्मिक कक्ष बाहिर खुलेयाम घुम्ने गरेका छन ।

बजारमा माक्स नलगाउनेहरुलाई कारवाही प्रक्रिया थालनी गरेको अवस्थामा संक्रमितहरुको उपचार गर्ने अस्पताल नै व्यवस्थित हुन नसक्दा अस्पतालबाटै संक्रमण फैलि रहेको छ । अस्पताल परिसरमा जथाभावी औषधीजन्य पदार्थहरु पनि फाल्ने गरिएको कारण पनि अन्य विरामीहरु पनि उपचारका लागि त्यहाँ गए संक्रमित हुन सक्ने प्रवल सम्भावना देखिन्छ । विरामी बस्ने बेडको मुनि एवं छेउमा औषधीजन्य पदार्थहरु थुपारिएको कारण त्यहाँबाट पनि संक्रमण फैलि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार