महाभारतमा ईन्द्र भगवानको भूमिका निभाएका अभिनेता कौलको कोरोनाले ज्यान लियो

काठमाडौँ, ३१ चैत । भारतमा फैलिएको कोरोनाको दोस्रो लहरले भगवान ईन्द्रको समेत ज्यान लिएको छ । बीआर चोपडाकृत ‘महाभारत’ मा ईन्द्र देवताको भूमिकामा रही ईन्द्रलोकमा शासन गरिरहेका अभिनेता सतिश कौलको दोस्रो लहरले ज्यान लिएको हो । ७४ वर्षका कौल दोस्रो लहरको कोभिड–१९ द्वारा संक्रमित भई निरन्तर उपचारमा थिए ।

औषधिले सकारात्मक रुपमा असर गर्न छाडेपछि उनको निधन भएको सूचना उनकी बहिनी सुष्माले सार्वजनिक गरेकी हुन् । भारतीय सञ्चार माध्यमको चासो जोडिन आएपछि स्पष्टीकरण दिने सन्दर्भमा सुष्माले उनको निधन भएको बताएकी थिइन् । उच्च ज्वरो आएपछि उनी पाँच दिनदेखि लुधियानास्थित अस्पतालमा भर्ना भएका थिए ।

कोरोनाको दोस्रो लहर छाएपछि डराइरहेका उनी अस्पतालमा गएर चेकअप गर्न पनि खुशी थिएनन् । कसै गरे पनि कोरोना संक्रमण नदेखियोस् भनेर उनी त्रसिएका थिए । तर भयो यस्तै । उनी कोरोनाको दोस्रो लहरबाट संक्रमित भए र ज्यान पनि गुमाए ।

आफन्तहरुको सहारामा अस्पताल पुगेर कोभिड परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनी केही बढि चिन्तित थिए । तथापि उनको उपचारमा संलग्न डाक्टरहरुले उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आइरहेको बताइरहेका थिए । बिहान आफन्तहरुसँग कुरा गर्दा म ठीक छु भनेका उनको त्यसको केही घण्टापछि निधन भएको थियो।

सतिश हिन्दी तथा पञ्जाबी फिल्मका एकताकाका निकै लोकप्रिय नायक हु्न् । उनले ३ सयभन्दा बढी पञ्जाबी र हिन्दी फिल्ममा अभिनय गरेका छन् । जीवनको उत्तरार्धमा आर्थिक स्थिति खस्कदै गएका उनी बूढेसकालमा बृद्धाश्रममा रहेको समाचार पनि सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार