एजेन्सी, २२ चैत । म्यानमारको आन्दोलनमा मारिनेको संख्या ५ सय ५७ पुगेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार म्यानमारमा सैन्य कदमको विरोधमा भइरहेको आन्दोलनमा मारिनेको संख्या ५ सय ५७ पुगेको हो ।
समाचारमा जनाइए अनुसार मृत्यु हुनेमा ४६ जना बालबालिका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले कू गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि निरन्तर प्रदर्शन हुँदै आएको छ ।
समाचारका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा २ हजार ७ सय ५० भन्दा बढी मानिसहरु पक्राउ परेका छन् । म्यानमारको सेनाले आन्दोलनमा घातक दमन गरेको छ तर नागरिक आन्दोलन भने झन् चर्किरहेको छ ।
प्रदर्शनकारीले विभिन्न तरिका अपनाउँदै म्यानमारको सेनाविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । तर आन्दोलन रोक्ने उद्देश्यका साथ म्यानमारमा शुक्रबारदेखि नै मोबाइल इन्टरनेट बन्द गरिएको छ ।
त्यहाँ फिक्स लाइनको इन्टरनेट प्रयोगकर्ताले मात्र इन्टरनेट चलाउन पाएका छन् । यसै क्रममा म्यानमारको सेनाले ४० भन्दा बढी नागरिकविरुद्ध वारेन्ट पनि जारी गरेको छ भने सेनाको विरोध गर्नु अपराध भएको उल्लेख गरेको छ ।