‘मानव सभ्यताको चिनारी हो मिथक’

२०२१ साल जेठ २६ गते भोजपुरमा जन्मिएका श्रवण मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन् । पछिल्लो समय उनको संयोजकत्वमा प्रज्ञा नेपाली मिथक कोष प्रकाशित भएको थियो । हामीले सोही कोषमा आधारित रहेर गरेको कुराकानीः

 

प्रज्ञा नेपाली मिथक कोष कस्तो किताब हो ? र, किन लेखियो ?

 

प्रज्ञा प्रतिष्ठानमा प्राज्ञनियुक्त भएर गएपछि हरेक सदस्यलाई एउटा विभाग दिइन्छ । मातृभाषा साहित्य विभाग मेरो भागमा प¥यो । मैले पाएको विभागको उद्देश्यअन्तर्गत मैले यो पुस्तकको काम गरेको हुँ । नेपालमा विभिन्न जातिका मिथक समेटिएको यो पहिलो पुस्तक हो । यो एउटा आधिकारिक संस्थाबाट आएको गम्भीर ढङ्गले अनुसन्धान गरिएको विषय हो । यो पुस्तक २०४६ र ०६२–०६३ को जनआन्दोलनपछि नेपाल सबै जातिको साझा थलो हो, सबै जातिको भाषा, साहित्यको उत्थान हुनुपर्ने कुरा आइसकेपछि जाति विशेषका मिथक,धर्म संस्कृतिको विषयको बारेमा खोजी गर्न थालिएको हो । एक जाति र अर्को जातिबीचको ज्ञान, सौन्दर्य र जीवनपद्धतिबारे जानकारी होस् भनेर बुझाउनका लागि २८ वटा जातिका मिथकहरु समावेश गरेर यो पुस्तक निकालिएको हो ।

 

यसमा केही जातिविशेषको मिथकलाई समेटिएको छ, सबै जातिलाई समेटिएको पाइएन नि?

 

प्रचलित मिथकहरु सबैलाई थाहा भएकै कुरा हो । केही सीमित जातिहरुको मात्र किन निकालियो भन्दा अवधि, किराँत राई, ताजपुरीया, धिमाल, मैथिली ल्होमी जस्ता जातिहरु लोप हुँदै जाने अवस्थामा पुगेका छन् । यिनीहरुलाई लोप हुन दिनु हुँदैन, संरक्षण गर्नुपर्छ भन्ने हेतुले यसका विषयमा जानकारी गराइएको हो । यिनीहरु हाम्रा संस्कृति र सम्पत्ति हुन् र यिनको पहिचान संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य हो । जुन कुराहरु लोप हुने अवस्थामा हुन्छन्, तिनीहरुको संरक्षण संवद्र्धन गर्नु पनि आजको आवश्यकता हो ।

 

यो संकलन आफैँमा कति पूर्ण छ त ?

 

यो त एउटा आधार मात्र हो । यस्ता कुराहरुलाई पनि बाहिर ल्याउन सकिन्छ भनेर एउटा जग मात्र बसाइएको हो । त्रिभुवन विश्वविद्यालयले यसका भागहरु २,३,४ गर्दै निकाल्दै जान पनि सक्छ । यो एकैपटक सकिने कुरा पनि होइन । नेपालमा १२३ जाति छन् । उनीहरुका आफ्नै मिथक छन् । आफ्नै कथा छन् । यसका लागि धेरै समय र खर्च लाग्छ । अब अरुले पनि यस विषयमा लेख्न, खोज्न सक्छन् ।

 

यसमा थप खोजका लागि राज्यले कस्तो भूमिका निर्वाह गरेको छ जस्तो लाग्छ तपाईंलाई ?

 

नेपालको सन्दर्भमा व्यक्तिगत रुपमा विभिन्न संस्थाहरुमा इतिहास, समाजशास्त्र पढ्दै गरेका मान्छेहरु एउटा प्रपोजल लिएर जान्छन् । त्यहाँबाट ५०–६० हजार रुपैयाँ पाउँछन् । यसरी काम गर्दा राम्रो हुँदैन । त्यति पैसा त हप्ता दिनमा सकिन्छ । रिसर्चको कुरा त परै जाओस् । सरकारलाई यस विषयमा कुनै सरोकार नै छैन । संरक्षण संवद्र्धनका कुरा त भाषणमा मात्रसीमित हुने हो । यस्ता कुरालाई पनि महत्त्व दिने हो भने हाम्रा संस्कृति, मूल्य मान्यता बाँच्छन् र सिङ्गो नेपाल बाँच्छ ।

 

मिथकको स्वरुप पुरानै छ कि पुस्तान्तरण हुँदा त्यो भत्कियो ?

 

मिथक भनेका ५० औँ वर्ष पुराना कथाहरु हुन् । यो त पुस्ता पुस्तामा हस्तान्तरण र रुपान्तरण हुँदै जाने कुरा हो । जस्तो मेरा हजुरबाले बालाई भन्दा र बाले मलाई भन्दा हजुरबाले भनेका कुराहरु मसम्म आइपुग्दा परिवर्तन हुन्छ । त्यसरी नै पुस्ता पुस्ता हस्तान्तरण हुँदा परिवर्तन हुँदै आउँछ अनि हामीले सुन्दा यस्तो पनि हुन्थ्यो होला र भन्ने लाग्छ र असम्भव पनि लाग्छ । यी कुराहरु आज भन्दा भोलि र भोलि भन्दा पर्सी रुपान्तरित हुँदै जान्छन् ।

 

तपाईंको मुख्य परिचय त कवि हो । आफ्ना साहित्यमा मिथक प्रयोग कति गर्नुहुन्छ ?

 

लेख्दै जाँदा मिथकका कुरा स्वतः आफैँ आउने कुरा हो । अहिले त साहित्यमा मिथकको प्रयोग गर्ने परम्पराजस्तै बसेको छ । म जुन समुदायबाट आएँ, मैले लेख्दै जाँदा त्यो समुदायको कुरा आई नै हाल्छ । मैले आफ्ना नाटक, कविता, गीत, गजल, सबैमा मिथकको प्रयोग गर्छु नै ।

 

नेपाली साहित्यमा मिथकको प्रयोगले सिर्जनालाई कत्तिको प्रभावित पार्छ ?

 

मिथक भनेको मानिसको सभ्यतालाई झल्काउने कुरा हो । उदाहरणका लागि हामीले एउटा अफ्रिकनलाई बुझ्न पहिला अफ्रिकाको बारेमा बुझ्नु प¥यो । त्यहाँको भाषा, संस्कृति, सभ्यता, जीवनपद्धति बुझ्नु पर्ने हुन्छ । तब मात्रै हामीले उसको मूल्य के छ भनेर थाहा पाउँछौँ । त्यस्तै साहित्यमा मिथकको भूमिका पनि त्यस्तै रहन्छ । साहित्यले पनि ठाउँ, देश, परिवेश, जातीय विशेषता, सांस्कृतिक सामाजिक मूल्य मान्यता झल्काउँछ । साहित्यमा मिथकले धेरै ठूलो कुरा बोलेको हुन्छ । एउटा सभ्यता, मूल्य मान्यता, धर्म, संस्कृतिलाई महत्त्वपूर्ण स्थानमा राखेको हुन्छ । त्यसले एउटा पहिचान बोकेको हुन्छ । मैले आफ्ना जातिविशेष मिथकबाट कविता, नाटक, गीत, गजल लेखेँ भने त्यसले मेरो आफ्नो पहिचान दिन्छ । म यो जातिको, मेरा मूल्य मान्यता र मेरो देशबारे पनि पढ्ने मान्छेले थाहा पाउँछ । त्यसैले नेपाली साहित्यमा मिथकको भूमिकालाई महत्त्वपूर्ण मान्न सकिन्छ ।

 

मिथकको खोजका क्रममा पाइएका समानता के छन् ?

 

धेरैजसो मिथकमा समानता नै पाइन्छ । मैले पिउने पानी र तपाईंले पिउने पानीमा के फरक छ र ? पिउने पानी एउटै हो । भूगोल, स्थान फरक–फरक हुन सक्छ । अहिले हामीले चलाएको र हाम्रा पुर्खाले चलाएको आगो पनि एउटै हो । र, मिथकमा पनि समानता छ । हाम्रो वर्ण फरक छ । मानिसले गर्दै आएको संघर्ष पनि एउटै हो । फरक भनेको दृष्टिकोण हो । हामीले तिनै कुरालाई गहिरिएर हेर्दा त्यसमा विविधता देखिन्छ । त्यै विषयलाई गहिरो अनुसन्धान गर्दा हामीले त्यही कुरामा चमत्कार भेट्न सक्छौँ । मिथक भनेका आवश्यकताले जन्माउने कुरा पनि हो । अहिलेकै समयमा कुनै–कुनै मिथकहरु असान्दर्भिक पनि हुन सक्छन् । जुन विज्ञानले मान्दैन ।

 

मिथककोष त निस्कियो तर यसको स्रोत र प्रामाणिकता अनि तथ्यपूर्णको आधारमा कति नजिक छ जस्तो लाग्छ ?

 

हामीले यी मिथकको अनुसन्धान एउटा दायरामा सीमित स्रोत र साधनबीच रहेर गरेका हौँ । हामीले जुन मानिसहरु आफ्नो जाति धर्म संस्कृति, मूल्य मान्यतासँग सम्बन्धित कुरामा जानकारी राख्छन् र यी कुरामा विद्वान छन् तिनीहरुलाई नै गर्न लगाइएको हो । उनीहरुको अनुसन्धानबाट जे जति आयो,त्यसलाई हामीले सम्पादन गरेका हौँ । तथ्य नै पत्ता लगाउन वर्षांैलगाएर अनुसन्धान गर्नु पर्छ । यी सबै मिथकहरु पूराना किताब पढेर र बुढापाकालाई सोधेर संकलन गरिएको नमुना मात्र हो ।

 

हाम्रो दैनिक जीवनमा मिथकको भूमिका केही हुनसक्छ ?

 

अहिले हाम्रो समाज चलायमान छ । आफैँमा परिवर्तनशील पनि छ । अहिले पनि हामीले पहिलेका कतिपय कुराहरु अँगाल्दै आइरहेका छौँ । सूक्ष्म अध्ययन गर्ने हो भने मिथकले अहिले पनि प्रभाव पारेको देखिन्छ । व्यक्तिगत जीवनसँग मेल खाइरहेका छन् । पहिलेदेखि चलिआएको धर्म संस्कृति मूल्य मान्यता र वंशाणुगत गुण जस्ता कुराले पनि प्रभाव पारिरहेकै छ ।

 

अब अन्त्यमा, तपाईंको व्यक्तिगत जीवनतर्फ केही सोधूँ लाग्यो । अहिले के मा व्यस्त हुनुहुन्छ ?

 

अहिले कोरोनामा महामारीले गर्दा लकडाउन छ । घरमै बस्ने हो । कृतिको कुरा गर्दा, आफ्नै लागि काम गरिरहेको छु । कविता, गीत गजल लेख्न र साहित्यिक लेखनमा व्यस्त हुन्छुँ भनौँ । यसबीचमा मैले फेसबुक लाइभमा कयौँ कविताहरु वाचन गरेँ र त्यसमा मलाई बडो रमाइलो पनि भयो ।

 

पाठकका लागि बजारमा केही ल्याउँदै हुनुहुन्छ कि ?

 

यो पल्ट पाठकमाझ नयाँ कवितासंग्रह बजारमा ल्याउँदैछु । केही समय लाग्ला । एकेडेमी (प्रज्ञा प्रतिष्ठान)को कार्यकाल सकिएको पनि दुई वर्ष भइसकेको छ र यतिबेलाको फुर्सदिलो समयमा मैले आफ्ना सिर्जनालाई नै बढी समय दिइरहेको छु । कोरोनाका कारण कार्यक्रमहरु पनि स्थगित भएकाले यो समयलाई झन् उपयोग गर्न सजिलो भयो नि !

 

प्रस्तुतिः ऋतु काफ्ले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार