तारकेश्वरमा फेरि बर्डफ्लु देखियो

काठमाडौं । काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा. दयमन्ती श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उहाँका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० वटा टर्की, ३ हजार ५ सय ७० अण्डा र ३ हजार केजी दाना नष्ट गरिएको उहाँले बताउनुभयो ।

उहाँले विगत एक महिनादेखि बाग्मती प्रदेशको काठमाडौंको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी भइरहेको जानकारी दिनुभयो । महानिर्देशक डा. श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन सङ्घ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार