उस्लाई लाग्छ मेरो श्रम पानी पिए जस्तो
रातो गुलाब तेर्साएर माया लिए जस्तो
अर्थ हुन्न निष्ठूरीलाई प्यारको जालो हाने पनि
चित्तामाथी मुर्दालाई गरगहना दिए जस्तो
उकुस मुकुस छ जिन्दगी, मेरो मात्र हो कि ?
जमिनमा हुँदा पनि पानी भित्र जिए जस्तो
फाटी रहन्छन् सपनाहरु, जतन गर्नुपर्छ
मक्किएको कपडालाई घरी घरी सिए जस्तो
दिन दिनले हिर्काएर छोटी रहन्छ जिन्दगानी
थाहै नपाई औंला बिच औठी खिए जस्तो
अजित रूपाबुङ
अमेरीका