माघी पर्व थारु र मगर समुदायले विशेष रुपमा मनाउँदै

 

काठमाडौं । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि ५ दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

यस्तै मगर समदायले पनि आज माघे सक्रांन्ति मनाउँदैछन् । मगर समुदायले यस पर्वलाई चेली पुज्ने पर्वका रुपमा मनाउने गरेका छन् । यसैदिन पितृका नाममा श्राद्धका रुपमा खचिडी चढाउने पनि चलन छ । विगतका वर्षमा विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउने गरिएकोमा यस वर्ष भने कोरोना महामारीका कारण त्यस्ता कुनै औपचारिक कार्यक्रमहरु आयोजना गरिएका छैनन् । सरकारले आज माघी मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार