थारु समुदायमा आजदेखि माघी पर्व शुरु

काठमाडौं । तराईका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व शुरु भएको छ । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि शुरु भएको हो ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष शुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् ।

यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ । विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।

पुस महिनाको अन्तिमरात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गरेको छ । त्यसपछि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन बिहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङ्क्रान्तिको दिन बिहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जनविश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार