नयाँ ठाउँमा जग्गा नपाएपछि पुरानै स्थानमा धुलिखेल कारागार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कार्यालयले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्ने भएको छ । कार्यालयले नयाँ भवनका लागि जमिन खोज्न थालेको ७ वर्षसम्म जिल्लाभित्र सदरमुकाम नजिक उपयुक्त क्षेत्र निरीक्षण गर्दै आए पनि कुनै पनि स्थानमा जमिन नपाएपछि पुरानै एकतले भवन भत्काउन बाध्य भएको हो ।

कैदीबन्दी सुधारगृहको रूपमा निर्माण गर्न लागिएको काभ्रेपलाञ्चोकको धुलिखेल कारागार भवनका लागि यसअघि सरकारले कारागार व्यवस्थापन विभागमार्फत वर्षेनी करोडौँ बजेट छुट्याउँदै आएको थियो । चालु आर्थिक वर्षबाट भवन निर्माण गर्न गत हप्ता मात्रै ठेकेदार कम्पनीसँग सम्झौता भएको जेलर गायत्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो । “वर्षौँदेखि नयाँ भवनका लागि जमिन खोज्दै आइयो, उपयुक्त स्थानमा कतै पनि जमिन नपाएपछि पुरानै भवन भत्काएर नयाँ भवन बनाउने निर्णय भएको हो”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार हाल रु ५६ लाख ७४ हजार ४ सय २३ को लागतमा दुईतले प्रशासनिक भवन तथा थप बजेटबाट सुरक्षासहितका अन्य संरचना क्रमशः निर्माण हुनेछ ।

३ वर्षअघि धुलिखेल नगरपालिका क्षेत्रभित्रको कारागारका लागि उपयुक्त जमिन उपलब्ध गराउन पटक–पटक माग गर्दा नगर कार्यपालिकाले बेवास्ता गरेको थियो । तत्कालीन स्थानीय सिफारिस समितिले धुलिखेल नगरपालिका–११ को कित्ता नं २ सय ७७ को १ सय ४० रोपनी ७ आना १ पैसा २ दाममध्ये पूर्वतर्फको १२ रोपनी जमिन उपलब्ध गराउन गृह मन्त्रालयमार्फत अनुरोध गर्दा नगरपालिकाले उक्त जमिन दिन मानेको थिएन ।

नगरपालिका र सर्वसाधारणले कारागारले माग गरेको जग्गा पर्यटकीय क्षेत्र रहेकाले दिन नसकिने बताउँदै आएका थिए । त्यस यता कारागार निर्माण हुनेमा अन्योलता हुँदै आएको थियो । हाल रहेको ३ रोपनी ८ आना ३ दाम जमिनमा मापदण्डअनुसार कारागार बनाउन नसकिने भएकाले वर्षौँदेखि जमिनको खोजी हुँदै आएको हो ।

सरकारले आर्थिक वर्ष २०७०÷७१ देखि करोडौँ रुपैयाँ बजेट विनियोजन गरेर जिल्लाको साँगा, बनेपा, धुलिखेल, काभ्रे भञ्ज्याङलगायतका स्थानमा वर्षेनी सार्वजनिक जमिन खोजिदै आइए पनि उपयुक्त जमिन नपाउँदा बजेट फ्रिज हुँदै जाने गरेको थियो । सरकारको मापदण्डअनुसार नयाँ निर्माण हुने कारागार कैदीबन्दीमैत्री, कारागारभित्र खेलकूद मैदान, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, शौचालय, कार्यालयको भवनलगायतका भवन निर्माण गर्नुपर्ने थियो । तर पर्याप्त जमिन नहुँदा मापदण्डअनुसारको कारागारको वातावरण बनाउन नसकिने जेलर अधिकारीले बताउनुभयो ।

राणाकालमा घोडा बाँध्ने तबेलालाई विसं १९६० मा जिल्ला कारागारका रूपमा परिणत गरिएका थियो । साठ्ठी कैदीबन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा २ सय भन्दा बढी राख्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार