पशुपतिनाथ मन्दिर आज दिनभर बन्द हुने

काठमाडौं । पशुपतिनाथ मन्दिर आज दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुष १ गतेदेखि खुलेको थियो । पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार