देवचुलीका महिला उद्यमशील बन्दै

  नारायण पंगेनी  121 पटक हेरिएको

नवलपरासी । तत्कालिन माओवादीद्वन्द्वका समयमा देशका विभिन्न ग्रामीण क्षेत्रहरुमा जनकम्युनको अवधारणा अघि सारिएको थियो । जन कम्युनहरुले सामुहिक खेती गर्ने जस्ता सामुहिक अभ्यास गरेका थिए तर त्यस्ता कम्युनहरुले भने निरन्तरता पाउन सकेनन् । पूर्वी नवलपरासीको देवचुलीका महिलाले भने यतिबेला सामुहिक खेती प्रणाली अभ्यास गरेका छन् । श्रीमतीलाई सुख दिन परदेशिएका पुरुषहरु पराया देशमा पसिना बगाइरहेका छन् । सन्तानलाई राम्रो शिक्षा र श्रीमतीको सुख सयलका लागि शहर बजारमा राख्ने थुप्रै युवाहरु छन् । देशको बेरोजगारीले निम्त्याएको यो तितो यथार्थ हाम्रै समाजको हो ।

अझै पनि अधिकांश महिला श्रीमान् वा पुरुषकै कमाईमा निर्भर रहेको कुरालाई नकार्न सकिन्न । तर त्यस्ता महिलाकाबीचमा अलि फरक छन् पूर्वी नवलपरासीका महिला, जसले आर्थिक उपार्जनमा हात बढाएका छन् । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ९ र १० का महिला उद्यमशील बन्दै गएका छन् । झण्डै तीन वर्षअघिदेखि संगठित भएर सामुहिक खेती प्रणालीको अभ्यास गरिरहेका देवचुलीका यी महिला यतिबेला उन्नत आलु उत्पादन गर्न ब्यस्त छन् । कृषिलाई ब्यवसायिकीकरण गर्दै आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण दिन कस्सिएका छन्, यी महिला । एक आपसमा हातेमालो गर्दै उनीहरु हरेक दिन बिहान सबेरै खेत–बारीमा निस्कन्छन् । कृषिमा केही गर्नुपर्छ भनेर संगठित भएका उनीहरु आफ्नो खेतिबाट निकै प्रफूल्ल देखिन्छन् ।

अहिले उनीहरु दैनिक तालिका नै बनाएर ब्यवसायिक खेतीमा जुटेका छन् । सामुहिक खेतिमा रमाएका उनीहरुलाई यतिबेला कृषि ज्ञान केन्द्रबाट पनि अनुदान मिलेको छ । राज्यबाट भएको सहयोगले उनीलाई थप हौसला मिलेको छ । कृषि ज्ञान केन्द्र तनहुँको ७५ प्रतिसत अनुदान र २५ प्रतिशत कृषक सहभागिता गरी कुल ४ लाख ८५ हजार ६ सय ७५ रुपैंयाको प्रारम्भिक कुल लागतमा ३ बिगाहा १४ कट्ठा जमिनमा आलु खेती गरिएको छ । विगतमा परम्परागत खेतिप्रणालीबाट आफ्नो गर्जो टार्नसमेत मुश्किल पर्ने गरेकोमा ब्यवसायिक रुपमा खेती गरेर आम्दानी गर्न थालेपछि उनीहरुले सफलताको खुड्किलो चढेको महशुस गर्दै छन् ।

परम्परागत रुपमा गर्ने गर्ने गरेका उनीहरुले यहाँका किसानले यति धेरै क्षेत्रफलमा एउटै योजनामा आवद्ध भएर पहिलो पटक ब्यवसायिक खेती गरेका हुन् । आफूलाई आवश्यक पर्ने दुई चार रुपैयाँका लागि पनि पुरुषहरुसँग हात फैलाउनुपर्ने बाध्यता अब छैन । आफ्ना लागि खर्चपानी आफै जुटाउँछन् ।

बाँझिएको खेतबारी जोतिएका छन् राम्रो आम्दानी हुन थालेको छ । दैनिक घरखर्च चलाउन समेत धौधौ पर्ने बाध्यता अब छैन त्यसैले यहाँका महिला औधि खुशी छन् । नार्कद्वारा सिफारीस भएका जनकदेब, एम.एस. र खुमल रातो जातका उन्नत आलुको राम्रो उत्पादन हुने देखिएपछि हौसिएका महिला नगरपालिका नै आलुमा निर्भर हुने विश्वासमा छन् । आलु उत्पादनपछि बोडी र काँक्रा लगाउनका लागि उनीहरुले बेर्ना लगाउने तयारी गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार