न्यून चापीय प्रणालीको प्रभाव, अझै तीन दिन मौसम बदली

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन मौसम बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भू–भागको मौसम अझै तीन दिन प्रभावित हुने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताउनुभयो ।

हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भाग तथा प्रदेश नं २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका भू–भागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार