नेपालकै ठूलाे अष्ट्रिच फार्ममा अब, च्याउ खेती र कोल्ड स्टोर

  विकाश पराजुली  198 पटक हेरिएको

 

रुपन्देही । रुपन्देहीका सीपी शर्मा युक्रेनमा पहिलोपटक अष्ट्रिच प्रत्यक्ष देख्दा अचम्मित हुनुभएको थियो । किताबमा ठूलो चरा भनेर चित्र देख्नु, पढ्नु भएका शर्माले अहिले आफैले ५ हजार बढी अष्ट्रिच पालन गर्दै आउनु भएको छ । रसियामा पढाई सकेर नेपाल फर्किएपछि थालेको व्यवसायले अहिले उहाँलाई अरबपति बनाएको छ । भनिन्छ, जहाँ धेरै चुनौति र जोखिम हुन्छ त्यहाँ अवसर र सम्भावनाहरु पनि धेरै हुन्छन् । रुपन्देहीका सिपी शर्माले अष्ट्रिज चरा पालनमा पाएको सफलताले माथिको उद्धरणलाई ठ्याक्कै सही सावित गर्छ ।

 

झण्डै १३ वर्ष अघि शर्माले मोलेको जोखिमको प्रतिफल अहिले पाउँदै हुनुहन्छ दाम पनि र नाम पनि । नेपालमा व्यवस्थापनमा स्नातक गरी स्नातकोत्तर गर्न रसिया जानुभएका शर्माले रसियाबाट फर्किएपछि रुपन्देहीको तिलोत्तमामा ०६४ सालदेखि अष्ट्रिच पालन शुरु गर्नुभएको थियो । नेपालमा पहिलो पटक व्यवसायिक रुपमा अष्ट्रिज पाल्न शर्माले नै थाल्नु भएको हो । अष्ट्रेलियाबाट १५ सय अष्ट्रिचका अण्डा ल्याएर फर्म चलाउन थालेका शर्मालाई शुरुमा खास सफलता हात परेन । १५ सय अण्डा कोरलेकोमा जम्मा २ सय मात्र चल्ला हुेर्केका थिए ।

 

 

शर्माको ‘अष्ट्रिच नेपाल प्रालि’को फर्ममा अहिले ५ हजार बढी अष्ट्रिच छन् । यी सबै फर्ममै उत्पादन भएका हुन् । ५ हजार मध्ये ६ सय जति पोथी र ४ सय जति भाले गरी १ हजार माऊ छन् । बाँकी ४ हजार मासु उत्पादनको लागि तयारी अवस्थामा छन् । माउको अण्डा र चल्ला उत्पादन क्षमता राम्रो छ । एउटा माउ अष्ट्रिचले वार्षिक ३० वटा बढी अण्डा दिन्छ । सबै माउ अष्ट्रिजबाट वार्षिक ८ देखि १० हजार सम्म चल्ला उत्पादन हुन्छन् । फर्मबाट वार्षिक ५÷६ हजार अष्ट्रिचको मासु बजार पठाउने गरिएको शर्माको भनाई छ ।

 

 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा खण्डको मधवलियादेखि डेढ किलोमिटर पुर्व २२ विगाह जग्गामा संचालित फर्ममा वार्षिक १५ सय टन मासु उत्पादन गर्नसक्ने क्षमता छ । शर्माले अष्ट्रिच पालनसंगै फर्म भित्रै अन्य कृषि उपज पनि उब्जाउनु हुन्छ । उहाँका अरु पनि थुप्रै व्यवसाय छन् । उहाँले डल्ले च्याउको उत्पादन र ठूलो क्षमताको शीत भण्डार सञ्चालन गरिरहनुभएको छ । अष्ट्रिचको गोबरमा पराल, गहुँको छ्याली, उखुको खोस्टा मिलाई प्लाष्टिकमा राखी च्याउ उत्पादन गरिएको छ भने त्यहि कम्पोष्ट मलको रुपमा प्रयोग हुने गरेको छ । यतिमात्र होइन अहिले फर्मभित्रै १० हजार टन क्षमताको कोल्ड स्टोर स्थापना गरिएको छ । च्याउ उत्पादन र कोल्ड स्टोर संचालनका लागि शर्माले १ अर्ब ६० करोड लगानी गर्नुभएको छ । उक्त परियोजना अन्तर्गत ३ हजार टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आइसकेको छ भने बाँकी कामलाई लकडाउनको समयमा निरन्तरता दिएको शर्माले बताउनुभयो ।

 

दशहजार टन क्षमताको कोल्डस्टोर निर्माण गर्ने योजना रहेको फर्ममा ५ सय टन क्षमताको कोल्डस्टोर अहिले सञ्चालन भइराखेको छ । जहाँ १५ वटा अलगअलग कोठामा माछामासु र हरियो तरकारी भण्डारण गरिएको छ । त्यस्तै १२ डिग्री तापक्रममा उत्पादन हुने डल्ले च्याउको उत्पादन पनि शीत भण्डारणभित्रै गरिएको छ । अहिले अष्ट्रिच फर्मबाटै दैनिक ३ हजार किलो च्याउ उत्पादन हुने गरेको छ । शर्माले यसलाई बढाएर १२ देखि १५ टनसम्म उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । च्याउको उत्पादनसँगै अहिले रहेका करिब ३ सय कामदारबाट बढेर ८ सय कामदारले रोजगारी पाउने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार