बिग्रेको छोरो सुधार्ने उपाय विवाह नै हो र ?

  शर्मिला न्यौपाने  1230 पटक हेरिएको

हरेक यात्रानुभुतीहरु बयान गर्ने खालका त हुँदैनन्, तर कहिलेकाहीँ अप्रत्यासित रुपमा खास बनिदिन्छन् । अर्थपूर्ण हुन्छन् सामान्य आउजाउ गर्दा पनि ।

मंसिरको दुई गते तिहार गाउँमा मनाएर काठमाडौं फर्किदै थिएँ । करिब पाँच घण्टाको यात्रामा चार वटा विवाहका गाडी भेटिए । सँगै रहनु भएकी एक जना काकीलाई ती गाडीहरू देखाउदै भनेँ ‘तिहारको टीका सकिन पाएको छैन, विवाह गर्न कति हतार गर्छन् मान्छेहरू ? काकीले फिस्स हाँसेर, ‘त्यही त नि’ बाहेक केही भन्नुभएन ।

मेराे मनमा पनि वन झाक्रीको ढ्याङ्ग्रो बजेको भन्दा बढी मुटुको धड्कन चलिरहेको थियो । ‘कहीँ कतै बिग्रिएर बसेकाे कसैकाे छाेराे सुधार्ने याेजना अनुरूप विवाहकाे प्रस्ताव त आउँदैन ?  एक दिन म पनि बेहुली बनेर कसैकाे  घर जानु छ । ती दिन नजिकिदै छन् ।’  भनेर

फेरि मन मनै सोचेँ सबै काम रहरले कहाँ गरिन्छ र ? केही बाध्यता त केही आवस्यकताले पनि गर्नुपर्ने हुन्छ । सायद, ती देखिएका मध्य केहीको रहर थियो होला, केहीको बाध्यता थियो होला अनि केहीको आवश्यकताको विवाह थियो होला ।

ती विवाह मैले चिनेका थिएनन् । तर पनि मनमा खसखस लागि रह्यो सबै खुसी होलान् कि नहोलान् विवाहमा ? होइन विवाह रहर हो की, बाध्यता हो कि जरुरत हँ ?

विवाह संस्कृति हो पारम्परिक संस्कार हो, थुप्रै सामाजिक मूल्य मान्यताहरु छन्, जीवन र संस्कृति धान्न मात्रै होइन सृष्टि चलाउन पनि हाम्रो सभ्यताले विवाह जरुरी बनाइएको दिएको छ ।

कत्तिको त बिग्रिएको छोरो सुधार्न कै लागि म जस्तै छोरीले आफ्नो खुसी र सपना टुटाएर जाँदै थिइन् होला । जरुरी थियो, बाध्यता थियो भने त सम्झौता गर्लिन जिन्दगी चलाउलिन्, रहर थियो र पछि पछुताइनन् भने खुशी पनि होलिन कुनै बेहुली । तर, जरुरी थिएन र जवरजस्ती थियो भने के गर्लिन ती चेली कठै !

परिवारले भनेको नमाने ‘उत्ताउली भएकी, इज्जत फाल्ने भइ’ भनेर लगाएका तुच्छ वचन पनि त सुन्नु पर्छ । किन की इज्जत हामी छोरीहरूले नै धानिदिनुपर्छ यो समाजमा, मानौ कि इज्जतको ठेक्का छोरी कै हो । छोराहरू त त्यसै चोखा हुन्छन् होला है ? विभेदपूर्ण सोच, र संस्कार देख्दा मन पोल्छ ।

 

बुझ्न मन लागेको कुरा

बिग्रिएको मान्छे सुधार गर्न छुट्टै उपाय अपनाउन सकिँदैन होला र ? अझ सुन्छु ‘पढाइ पनि राम्रो छैन जागिर पनि केही गरेन छोराको बिहे गरिदिउँ ।’

सोच्नुस् त पुरुषप्रधान मानसिकता भएको त्यो घरमा सक्षम र राम्रो शिक्षा नभएको छोरासँग कस्ति बुहारी आउलिन् ? त्यही छोरा जस्तै हैन र ? अनि कसरी हुन्छ विवाह गर्दैमा राम्रो घर व्यवहार ?

अलिकति केही गरौंन त भन्ने मान्छे आइन् भने पनि ‘छोराले त लछारपाटो लाएन तैले के गर्छेस् ?’ भनिहाल्छन् । बुहारी भएपछि बाँधिनु पर्ने पारिवारिक चौघेरो पनि रेडिमेड छ हाम्रै समाजमा । खुट्टा बाँधेर म्याराथन जित्न त सम्भब छैन नि !

मंसिर महिना तन्नेरीहरुका लागि संक्रमणकालीन समय जस्तै हो । मौसम चिसो अनि शुरु हुँदै गरेको सिरेटोमा ज्यान तताउन मन तताउने कुरा जाडोमा ‘रुई फुई र दुई’ भन्छन्, कल्पनाको संसारमा डुब्दा हुनन् खुब, कहिलेकाही सुनेकीछु केटाहरुका कुरा ।

एक्लै भएकाहरूलाई त ठिकै हुन्छ । ‘ए बिहे गर जन्ती जानू पर्यो, लौन दुईचार पैसाको गर्दुवा किन्न मन लागेको छ, उमेर जाला पछिपछि नभन ।’ यस्तै यस्तै कुरा सुन्नु पर्छ धेरैले ।

तर, प्रेम सम्बन्धमा रहेकाहरूलाई कत्ति गाह्रो छ । बिहे गरि हालौँ भने पढाइ पूरा गरेर आफ्नु खुट्टामा नउभिएसम्म मन हुँदैन । बिहे नगरौँ मन परेको मान्छेलाई परायाले लगान गाँठो पार्ला भन्ने पीर !
बिहे गर्ने सुरसार नगरेकाहरुलाई मंसिर वा लगनका महिना नआइदेओस् भन्ने लाग्दो हो ।

भौतिक सम्पत्ति दौलत नै सर्वस्व ठान्ने नेपालीको मानसिकता कहिले परिवर्तन होला ? कुनै पनि अभिभावकले केटाको पढाइ धन सम्पत्ति के कत्ति छ भनेर चासो दिए जसरी ‘मेरी छोरीले विवाह पश्चात् स्वतन्त्रता कति पाउँछे ? ऊ खुशी हुन्छे, चाहनाहरु सपनाहरु पूरा गर्न पाउँछे पाउँदिने भनेर सोच्ने हो भने त धेरै छोरीले प्रगति गरेर देखाउन सक्ने थिए होला नि ।

विहेको प्रशङ्ग मात्रै होइन यो यात्राको मुख्य कुरा लैङ्गिक विभेद र हिंसा अनि हाम्रा समाजका गन्नेमान्ने मान्छेका सोचको स्तर पनि कस्तो छ भन्ने फेहरिस्त पनि हो ।

लैङ्गिक विभेद अन्त्य गर्नुपर्छ भन्दै भाषण गरेर हिड्ने धेरै देखेको छु । र ती मध्येका केहीसँग केही नजिक हुने अवसर मिल्छ कहिलेकाहीँ । यस्तै सिलसिलामा एक पटक अलि लामो बाटोको यात्रा तय गरेकी थिएँ एक जना राजनीति गरेर आफ्नो छुट्टै पहिचान बनाइसक्नु भएको व्यक्तिसँग । निकै मिजासिलो स्वभावको मान्छे, मप्रति गरेको ब्यवहार र बोली बचन तारिफ गर्न लायक कै मान्छे हो उहाँ ।

यात्रामा गाडीमात्र होइन हाम्रा कुरा पनि उही रफ्तारमा बढ्दै थियो । गाडी गन्तव्यतिर कुरा गहनतातिर ।

कुरा गर्दै जाने क्रममा लैङ्गिक हिंसा विशेषत नेपाली समाजमा महिलाले पाइरहेको स्थान र हेर्ने दृष्टिकोणका विषय पनि निस्कियो । उहाँको कुरा सुन्दै गर्दा कता कता चित्त बुझेन । महिलालाई कमजोर सोच्नु भएको, क्षमताको कदर नगरेको जस्तो महसुस गरेँ । एकाएक म’भित्र नारीवादी भावना जाग्यो । अब यात्राको क्याजुअल संवाद डिबेटमा परिणत हुँदै थियो ।

मलाई लाग्छ ‘म ममाथि भएको कुनै हिंसा, दमन, शोषण, अन्याय सहन्न र महिलालाई कमजोर बनाउने कुरा कसैले गर्छ भने त्यस्को विरोध गर्छु, गर्नसक्छु ।’ तर त्यहाँ म स्वयम कमजोर बनिरहेँ । बुझेर पनि नबुझे झै गर्दै थिएँ । अर्थात् ‘महिला भनेर लिङ्गकै आधारमा विभेद नगर्नुस्, भनेर खबरदारी गर्न म चुक्दै थिएँ । उहाँको स्वभावले उहाँप्रति उब्जिएको सम्मानले मलाई उहाँका कुरामा मुख फर्काउन रोकिराखेको थियो ।

यत्तिकैमा उहाँले प्रश्न गर्नु भयो ‘ब्वाइफ्रेन्ड छ कि छैन ? बिहे कहिले गर्छौ ? मैले पनि लोकसेवाको टिक लगाउने उत्तर जसरी अझ भनौं पुर्व निर्धारित जवाफ जस्तो फ्याट्ट भनेँ ‘ब्वाइ फ्रेन्ड छैन’ ।

किशोर उमेरकी म जीवनका बारे निर्णय लिने बेला भएको छैन भन्ने लाग्थ्यो, किशोरअवस्थामा आउने परिवर्तन र संवेगात्मक गुणहरुका बारेमा धेरथोर बुझेकी म लहैलहैमा लाग्ने र दलदलमा फस्ने त कुरा थिएन ।

पहिला म केही बन्नु पर्यो, लक्ष्यमा पुग्नु पर्यो अनि मात्रै मलाई यस्तो व्यक्ति योग्य हुन्छ भनेर पहिचान गर्न सक्छु । प्रेम सम्बन्धलाई नराम्रो भन्न खोजेकी त होइन तर चल्तीको प्रेम बिकृत बन्दै गइरहेको छ, टाइम पास बढी, लाइफ पास त आक्कलझुक्कल हुने के प्रेम, यो बर्वादी मात्रै हो ।

जीवन अनि समय सबैको अमुल्य हुन्छ । तन्नेरी उमेरको तलतल मेट्न कसरी जीवनसाथी चुनौ किशोरावस्था मै ।

म आफू स्वयम कस्तो मान्छे बन्छु निकट भविष्यमा भनेर निर्धारण भैनसकेको अवस्थामा अब मैले रोज्ने मान्छेको सामान्य आधार के के हुन सक्छन् ? जब सम्म यी प्रश्नको उत्तर भेटिदैन तबसम्म ब्वाइफ्रेन्ड बनाउने कुरा म बाट हुन्न । बिहेको कुरा त अहिले सोच्नी बेलै भएको छैन । उमेर, पढाइ पुगेको छैन । आफ्नु खुट्टामा उभिन बाँकी नै छ । अनि बिस्तारै सोचौँला ।’

मैले यत्ती भनिरहदा उहाँ बेलाबेला मलाई हेरेर हाँस्दै आफ्नै रफ्तारमा गाडी चलाउँदै हुनुहुन्थ्यो । त्यस पछि उहाँले प्रतिउत्तर स्वरु जवाफ फर्काउनु भयो ‘धेरै कुरा नगर भो, छोरी मान्छेले गरेर सधैंभरीलाई पुग्दैन । अलि धनी जागीर भएको केटा खोजेर बिहे नगरेर ? गाउँबाट काठमाडौं छिरेर संघर्ष गरेर कहिले कमाउनु ? कहिले राम्रो मान्छे बन्नु ? यसो गर्दागर्दै उमेर जान्छ । बुढी भएपछि त केटाले हेर्दैनन् । ख्याल् गर है ।’

अब भने मेरो रिस बढ्न थाल्यो पहिलो कुरा त उहाँले मलाई सम्बोधन गरिरहेको ‘तिमी’ शब्दै मन परेको थिएन । यद्यपि उमेर र अनुभवको अग्रज भएकाले यस्बारे केही भनिनँं । तर सहनु पनि त कत्ती ? हरेक कुराको सीमा हुन्छ । मेरो धैर्यताको बाँध त्यतिबेला फुट्यो ।

त्यत्तिको बुझ्ने, समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्नु हुन्छ भनेर सोचेको मान्छेको चेतनाको स्तर र सोचाइ देखेर बिचरा बाहेक केही भन्न सक्ने सामथ्र्य मसँग थिएन । हेर्दा मात्रै ठूलो भएर के गर्नु सोचाईको स्तर निम्न भएपछि, मुखभरी जवाफ फर्काइदिउँ भनेर झ्वँक चलेको थियो ।

तैपनि संयम भएर अनि भनेँ ‘सबै कुरा पैसा र उमेरसँग तुलना गर्न मिल्दैन नी नेता ज्यू, कुनै कुरा आत्मसन्तुष्टि र समाज परिवर्तनको लागि पनि गर्न सकिन्छ । म सक्षम छोरी भन्न सकेँ भने त अरूले पनि मेरो सिको नगर्लान भन्न कहाँ सकिन्छ र ? यसैगरी त हो समाज विकास हुँदै जाने । शैक्षिक र आर्थिक रुपमा छोरीलाई अबसर र स्वतन्त्रता दिनुस बस केही गर्नुपर्दैन कसैले । तपाईँ पुरुषसँग कोटा नछुट्याई प्रतिस्पर्धा गर्न सक्छौं र शोषण अनि दमनको प्रतिकार गर्छौं ।’

त्यसपछि एकाएक उहाँको सम्बोधनमा परिवर्तन आयो । ‘तपाईंसँग त महिलालाई तलपार्ने कुरा गर्नै नहुने रहेछ । मान्छे सानी भएपनि धेरै कडा । म धेरै ठाँउमा बोलेर हिड्छु र अधिकांश ठाउँमा सबैलाई पछाडि पार्छु तर महिलाको कुरा गर्दा तपाईँसँग चै नसक्ने रहेछु ।’ उहाँले हाँस्दै यत्ती भनेपछि यात्रा केहि समय मौनतामा परिणत भयो ।

जब बिहेको कुरा चल्छ छोरालाई भन्छन् ‘आफूले हेरेको होलास नि ? हेरेको भए सजिलो हुन्थ्यो ।’ अनि फेरि त्यही घरकी छोरीलाई तिनै परिवारका सदस्यले भन्ने गर्छन् ‘दायाँबायाँ होइन है, छोरी मान्छेको इज्जत कस्तो हुन्छ ? हामीले खोजेको केटासँग बिहे गर्नुपर्छ ।’ तर ती परिवारका सदस्यलाई थाहा नभएको हो कि भएर पनि नजरअन्दाज गरेका हुन् बुझ्न गाह्रो हुन्छ । आफ्नी छोरीलाई जति बन्धनमा राखेको हुन्छ अरूलेपनि त्यसै गरेको हुन्छ होला भन्ने सोचाइ आउँदैन र ? अनि तिनीहरुको छोराले कसरी आफैं केटी खोज्न सक्छ ?

आफ्नो मात्रै सर्वस्व अरुको केही होइन भन्ने मानसिकता कहिले परिवर्तन होला र खै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार