परराष्ट्र सचिवको निमन्त्रण स्वीकार्दै भारतीय विदेश सचिव नेपालमा

 

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । त्रिभुवन विमानस्थलमा उत्रिएका श्रींगलालाई परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गर्नुभएको छ । विमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिँदै श्रींगलाले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोना कारण सम्भव नभएको र अहिले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताउनु भयो । विमानस्थलमा श्रींगलाले नेपालीमै बोल्नु भयो ।

 

उहाँले पहिले पनि आफू काठमाडौं आएको र विदेश सचिवका रूपमा भने पहिलो पटक नेपाल आएको सुनाउनु भयो । काठमाडौं ओर्लिएसँगै विदेश सचिव श्रींगलाको भेटघाट सुरु भएको छ । परराष्ट्र सचिव भरत पौड्यासँगको भेटपछि उहाँले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्ने र आजै राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुग्ने कार्यक्रम तयभएको छ ।

 

सिंहदरबारमा परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेट लगत्तै उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका लागि बालुवाटार पुग्ने बताइएको छ । भारतीय दूतावासका अनुसार उहाँले आजै विभिन्न दलका नेतासँग भेट गर्न समय लिनु भएको छ । परराष्ट्र सचिवको निमन्त्रणमा नेपाल आउनु भएका उहाँ भोलि दिउँसो १ बजे दिल्ली फर्किनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार