काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हितबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई बहुमतले कारबाही गर्ने बताउनुभएको छ । नाइस टेलिभिजनको ‘नेपाल टक’ कार्यक्रममा अन्तवार्ता दिने क्रममा तामाङले यस्ताे कुरा बताउनुभएको हो । पछिल्लो समयमा नेकपा भित्रको विवादका कारण पार्टी फुटको संघारमा पुगिरहेको अवस्थामा पार्टी फुटाउन अरु कोही नभएर स्वयम प्रधानमन्त्री नै लागिपरेको तामाङले अाराेप लगाउनु भयाे ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको आन्तरिक विवाद र प्रधानमन्त्री ओलीका कमीकमजोरी, सत्ता सञ्चालनमा भए गरेका कमीकमजोरीलाई औल्याउँदै १९ बुँदे राजनीतिक प्रतिवेदन पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेसँगै विभिन्न मितिमा बैठक तय गरिएको छ । बैठक तय गरिएपनि केही नेताहरुले प्रधानमन्त्रीले आगामी बैठकलाई सार्ने र टार्ने रणनीति अनुसार अगाडी बढेको जनाएका छन् । नेताहरुको यस्तो कुरा बाहिरीएसँगै राजनीतिक माहोल अझ चर्किएको हो ।
सोहि विषयमा प्रधानमन्त्रीले फेरि पनि बैठक सार्ने र टार्ने रणनीति अपनाए के गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा तामाङले भन्नुभयो ‘हामीसँग स्पष्ट बहुमत छ । बहुमत सदस्यले प्रम ओलीलाई जतिबेला पनि कारवाही गर्न सक्छौँ । यदि ओलीले त्यसो गरे ठूलो दुर्घटना हुन्छ । उहाँले आफैँ बुझ्ने हो । यो देशका भुपु प्रधानमन्त्रीहरु नै तिन जना हुनुहुन्छ । उप प्रधानमन्त्री भैसकेका अन्य थुप्रै व्यक्तिहरु हुनुहुन्छ । तरपनि उहाँ टेर्नुहुन्न । पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने ? भन्दै प्रतिप्रश्न समेत गर्नु भयाे । ’
त्यसैगरी पछिल्लो समयमा भारतीय गुप्तचर विवाद (रअ) प्रखुम सामन्त गोयल आएर त राजनीतिक माहोल नै उथलपुथल पार्नुभयो नि ?भन्ने जवाफमा तामाङले आक्रोश व्यक्त गर्दै पुनः प्रतिप्रश्न गर्नुभयाे ‘प्रधानमन्त्रीले सत्ता टिकाउन अनेक खालका टिकडम अपनाइराख्नुभएको छ । त्यो भ्रमण राजनीतिक / कुटनीतिक हो भने परराष्ट्र मामिलाका प्रतिनिधिहरु को को सामेल भए ? कुटनीतिक सम्बन्ध कुन तवरतरिकाले गर्नुपर्छ ? भन्ने सम्म प्रधानमन्त्रीलाई ज्ञान हुदैन ? ’
सिमा विवाद र केही समय अगाडीको विवास्पद भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता अतिक्रमित भूमिका बारेमा छलफल गर्न भारतीय विदेश सचिव नेपाल आउने भन्ने कुरा पनि प्रधानमन्त्री ओलीको निहित स्वार्थ र व्यक्तिगत लाभका लागि मात्र बोलाइएको जस्तो बुिझएकाे छ । ती अतिक्रमित भूमिहरु ओलीले फिर्ता गर्नुहुन्छ भन्ने आफू र आफ्नो पार्टीलाई विश्वास नलागेको समेत नेता तमाङले बताउनुभयाे ।
ओली सरकारका मातहतमा रहेका कयौँ मन्त्री र आसेपासेहरुले गरेको कयौँ ठूला भ्रष्टचारको तुरुन्त छानबिन गर्नुपर्ने र यदि दोषी ठहरिए कानून सम्वत सरकारले अनि पार्टीले समेत कारवाही गर्नुपर्ने नेता तामाङको माग छ ।
त्यसैगरी यो देशको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, राजतन्त्र अन्त्यदेखि देशका तमाम गम्भिर मुद्धाहरुमा पार्टी अध्यक्ष प्रचण्डलाई पाखा लगाएर कुनै निर्णय गरौँला भनी सोच्नु प्रधानमन्त्री ओलीको दिवासपना मात्र भएको उहाँले ठोकुवा गर्नु भयो । परिस्थिति बिग्रदै जाने हो भने प्रधानमन्त्री ओलीलाई पेलेर अगाडी बढ्न आफूहरुलाई कुनै आइतबार नलाग्ने र प्रचण्डले त्यो जोखिम मोल्नुपर्ने नेता तामाङ्को भनाइ छ ।