गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्य उपकरण जडानको काम रोकियो

  विकाश पराजुली  366 पटक हेरिएको

भैरहवा । पछिल्लो पटक थपिएको म्याद अनुसार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आउँदो डिसेम्बर अन्तिमा सकिनुपर्ने हो । तर, थपिएको यो मितिमा समेत विमानस्थल निर्माणको काम सकिने छाँटकाँट छैन ।

चिनियाँ प्राविधिक नआउँदा उपकरण जडानको काम रोकिएपछि पछिल्लो पटक थपिएको म्याद पनि गुज्रिने भएको छ । कोरोना महामारीका कारण चीनबाट आउनुपर्ने प्रावधिक रोकिएका छन् । धावनमार्गको लाइट र टर्मिनल फिटिङतर्फ मुख्य उपकरण जडानको काम रोकिएको हो । चिनियाँ प्राविधिकले कोरोनाविरुद्धको भ्याक्सिन पर्खेकाले प्रावधिक आउन ढिलाई भएको आयोजनाको भनाई छ । चीनबाट प्राविधिक आउने हो भने उपकरण जडानको काम सक्न ४५ दिनदेखि २ महिनासम्मको समय लाग्ने बताइन्छ ।

चीन सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लिएर मात्र मुलुक बाहिर जान भनेकाले प्रावधिकहरु भ्याक्सिन लगाएर मात्र नेपाल आउने तयारीमा छन् । चीनमा अहिले कोरोना संक्रमणविरुद्धको भ्याक्सिनको तेस्रो चरण परीक्षण भइरहेको छ । कोरोना संक्रमणविरुद्धको भ्याक्सिन पर्खेकाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लम्बिन पुगेको हो । सन् २०१५ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेपछि निर्माण थालनी भएको विमानस्थलको अहिले ९३ प्रतिशत काम सकिइसकेको छ भने उपकरण जडान लगायतका ७ प्रतिशत काम मात्र बाँकी छ ।

चीनको नर्थ वेष्ट सिभिल एभिएसनसँग भएको ठेक्का अनुसार सन् २०१७ को अन्तसम्म अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिनुपर्ने अन्तिम म्याद भएपनि विभिन्न कारणले पटक–पटक म्याद थप गरी २०२० को अन्तसम्म तन्काइएको हो । बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण मानिएको छ । यो विमानस्थल तयार भएसँगै लुम्बिनी क्षेत्रको पर्यटकीय विकासले छलाङ मार्ने आशा सरोकारवाला र ययवसायीको छ । ठूलो संख्यामा पर्यटक भित्र्याउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मूख्य आधार हुने धेरैको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार