जब गाउँमा बिजुली बल्यो ….. (भिडियो रिपोर्ट)

  सुनिल कार्की  76 पटक हेरिएको

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं १ कचल आर्खुदीका बयोबृद्ध पुणर् बहादुर सुनारी, गाउँकै पाका ब्यक्तिमध्ये पर्नुहुन्छ । उमेरले ९० वर्ष पुगेका सुनारी बुढेशकालमा खुसीले गदगद हुनुहुन्छ, कारण हो, गाउँमा विजुली पुगेको छ । वारीपारी गाउँमा झलमल्ल विजुली बल्दा कचलका स्थानीय ढेब्रीको उज्यालोमा बस्न बाध्य थिए । तिनाउँका २ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिन सकेको थिएन । सुनारीलाई बटौलीबाट मट्टितेल खरिदेर ल्याएर ढेब्री बालेर पिलिपिलि उज्यालोमा रात कटाएको हिजो जस्तै लाग्छ । तर अहिले बिजुली बत्ती झलझली बल्दा सपना जस्तै लागेको सुनारी बालाई ।

तिनाउ गाउँपालिका वडा नं १ आर्खुदी र वडा नं २ खुर्साने गाउँका स्थानीयको वर्षेदेखिको विद्युत बाल्ने सपना बल्ल पूरा भएको छ । विद्युतीकरणको अभावमा अन्धकारमा बस्न बाध्य भएका खुर्साने र आर्खुदीका स्थानीयमा खुशीयाली छाएको छ । विजुली आएको अवसरमा उनीहरुले पन्चेबाजा बजाएर छमछमी नाचेरै खुशीयाली साटे ।

हुन त एकाध घरमा पहिले लद्युजलविद्युतको विजुली पुगेको थियो । तर बारम्बार आइरहने समस्याले आति बनेका स्थानीय राष्ट्रिय प्रसारण लाइन जोडिएपछि औधि खुशी छन् । गाउँमा केन्द्रिय प्रसारणको विजुली आएपछि जीवन स्तरमा परिवर्तन आउने स्थानीयको अपेक्षा छ । घरमा विजुली बत्ति नहुँदा टुकी र मैनबत्तिको भरमा पढ्न बाध्य विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत सुधार आउनेमा उनीहरु आशावादी छन् ।

स्थानीयमा यो खुशी र आशा जगाउने काम गरेको हो, स्थानीय सरकारले । दैलोमा आएको सरकारले जनतालाई साँच्चिकै अभिभावकीय महसुस गराउने प्रयत्न गरिरहेको छ । तिनाउ गाउँपालिकाका प्रवक्ता विकास प्रेमी जनप्रतिनिधि वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठको दिन रातको खाटाईबाट तिनाउको यी दुई गाउँमा झिलीमिली सम्भव भएको हो ।

तिनाउ गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने अभियानलाई सार्थकता दिन दुई वडामा भएको विद्युत विस्तारको कामले महत्वपुणर् टेवा पुर्‍याएको छ । दुई गाउँका १०८ घरधुरीका जनता अहिले विजुलीको उज्यालोमा छन् । विद्युत विस्तारको लागि तिनाउ गाउँपालिकाको २ लाख २५ हजार र नेपाल विद्युत प्राधिकरण रुपन्देही वितरण केन्द्रको ११ लाख लागत छ, भने यसमा स्थानियबासीले श्रमदान गरेका छन् ।

ग्रामीण विद्युतीकरणले स्थानीयमा पुर्‍याएको विजुलीको पहुँचले दैनिकी सहज मात्र होइन स्थानीय तहमा रोजगारीका अवसरहरूको सिर्जना, व्यवस्थापकीय क्षमतामा अभिवृद्धि हुने अपेक्षा छ । विद्युत् सेवामा विस्तारसँगै कृषिमा सुधार, प्रविधिमा पहुँच, उद्योग स्थापना, सेवा सुविधामा विस्तार, सिंचाइ, खानेपानी लगायतका बन्दोबस्त स्थानीयस्तरमा गर्न सक्ने हो भने खुर्साने र आर्खुदीका स्थानिय जीवनस्तर उकासिने मात्र होइन बढ्दो बसाई सराईँ र पलायनलाई पनि रोक्न सकिन्थ्यो कि ! ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार