नक्कली सुकुम्बासी बनेर १४ कट्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा

  दीपक चाैरसिया  47 पटक हेरिएको

दीपक चाैरसिया

बारा । बारामा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकाले नजिकैका जग्गाको मूल्य उच्च छ । संघीयता कार्यान्वयनसँगै जग्गाको मूल्य थप आकाशिएको छ भने त्यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ ।

बाबुका नाममा साढे ३ विघा भन्दा धेरै जग्गा भएका एक व्यक्तिले सुकुन्बासीको नाममा १४ कठ्ठा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गराएको खुलेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नं. २३ मा रहेको १४ कठ्ठा ऐलानी जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गराएको खुलेको हो । सरकारी अधिकारीहरुसँग मिलेमतो गरी सुकुम्बासीका नाममा जिल्लाको साविक भतौडा गाविस वडा नं. ८ र हाल कलैया उमहानगरपालिका वडा नं. २३ बैराठपुर टोलमा रहेको किता नं. १३ को ९ कठ्ठा १० धुर र साविक भतौडा गाविस वडा नं. ५ र हाल कलैया उमनपा वडा नं. २३ कोईरीया टोलमा रहेको किता नं. ३१२ को ४ कठ्ठा ५ धुर ऐलानी पर्ती जग्गा स्थानीय दुर्गा पटेलले एकलौटी रुपमा आफ्नो नाममा नामसारी गराएको खुलेको हो ।

अतिक्रमित सार्वजनिक जग्गा कुम्ल्याएको खुलेसँगै स्थानीयले त्यसको बिरोध गर्दै आएका छन् । उनीहरुले अख्तियार तथा जिल्ला अदालत बारमा मुद्दा पनि दायर गरेका छन् ।

१४ कठा जग्गा मध्ये केही जग्गामा एउटा सार्वजनिक धर्मशाला पनि रहेको छ । उक्त धर्मशालामा दुर्गा पटेलले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ ।

उपमहानगर त्यो पनि हाइवेमा रहेको अतिक्रमित जग्गाको मूल्य अहिले करोडौँ बराबरको छ । दुर्गा पटेलका बुवा एउटा सरकारी कर्मचारी भएको आडमा २०६६ सालमा सुकुमबासी आयोग मार्फत सो जग्गा आफ्नो नाममा दर्ता गराएकोे स्थानीयबासी शिवलाल महतो कोइरी बताउनुहुन्छ ।

उता अतिक्रमणको आरोप लागेका दुर्गा पटेल पूर्वजको पालादेखि नै जोतभोग गर्दै आएको उक्त जग्गा कानूनी प्रक्रिया पूरा गरेर नै आफ्नो नाममा गरेको दाबी गर्छन् ।

संघीयता कार्यान्वयन हुनु अघि नै आवस्य सबै प्रक्रिया पूरा गरी जग्गा पास गरेर धर्मशालाका लागि समेत जग्गा प्रदान गरेको पटेल स्वीकार गर्छन् ।

तर उनी सुकुम्बासी होइनन्, कलैया उपमहानगरपालिका मुख्य बजारमै उनका बाबु शंकर राउत कुर्मीको नाममा थुप्रै जग्गा छ । भतौडामा पनि साढे ३ विघा जग्गा रहेको खुलेको छ ।

नक्कली सुकुम्बासी भएको रहस्य खुलेसँगै २०६७÷०६८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा मुद्दा नं. १५८१३ मा स्थानीयले उजुरी दर्ता गराएका थिए । पटेललाई जग्गा पास गरिदिने सरकारी अधिकारी अहिले अवकासप्राप्त छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष बिक्रम साह कानूनी प्रक्रिया अनुसार नै जग्गा पास गरेको देखिएको तर कीर्ते भएको पाइए आवस्यक कार्वाही गरिने बताउनुहुन्छ । आवश्यक अनुसन्धान भइरहेको वडाध्यक्ष साहको जिकीर छ ।

बारामा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ ।

बारामा भूमाफियाको कीर्ते, जालसाजी, नक्कली मोही खडा गर्ने जस्ता गतिविधि नयाँ होइन । यसअघि बाराकै जितपुर सिमरामा भूमाफियाको गिरोहले कीर्ते गरी मसानघाटको जग्गा पनि प्लटिङ गरेर बेचेका थिए ।

सम्बन्भित निकायले बेलैमा यस्ता गिरोहलाई नियन्त्रणमा नलिने हो भने सार्वजनिक जग्गा कतै बाँकी नरहने हो कि भन्ने चिन्ता स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार