महिला र बालिकालाई यौन वस्तुका रुपमा हेर्ने सोंच बदलौं

  दीपा आलेमगर  317 पटक हेरिएको

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको समयमा महिला हिंसा दिनदिनै बढ्दै गईरहेको छ । महिला तथा बालबालिकाहरु माथि शारीरिक तथा मानसिक हिंसा भईरहेका छन् । यही कोरोना महामारीकै क्रममा महिला तथा बालबालिका माथि बलात्कार पछि हत्या गरी मार्ने क्रम पनि बढ्दै छ भने कतै बलात्कारका घटनाहरुलाई स्थानीयस्तरमै मिलापत्र गर्ने कार्यपनि भईरहेको छ । तर घटनामा संलग्न अभियुक्तहरु खुलेआम अहिलेपनि छाती फुलाएर हिंडीरहेका छन् तर त्यस्ता जगन्य अपराध गर्ने अभियुक्तलाई राज्यले कानुनी कडघरामा ल्याई कडा सँजाय दिन भने सकिरहेको अवस्था छैन ।यस्ता डरलाग्दा घटनामा राज्य कहिकतै चुकीरहेको छ । जसले गर्दा यति बेला आम जनताका माँझ कानुनी राज्यको धज्जी उडीरहेको छ । तर राज्यले महिला तथा बालबालिकाका विषयमा अलिकति पनि संवेदनशील भएर सोच्न सकिरहेको छैन भन्दा फरक नपर्ला ।

 

संविधानमै महिला तथा बालबालिकालाई मात्र होइन कुनै पनि व्यक्तिलाई हिंसा गर्नु हुर्दैन यदि हिंसा गरेमा कानुन अनुसार संजाय हुनेछ भनेर तोकिएपनि विधिको शासन फितलो हुँदै गइरहेको छ जसले गर्दा अपराधीहरु खुलेआम यस्ता घिनौला कार्यमा संलग्न हुँदै गईरहेका छन् । आज विधिको शासन होइन कि शासनको विधि अनुसार राज्य चलेको हुनाले समाजमा दिनप्रतिदिन हिंसात्मक घटनाहरु घट्ने क्रम जारी छ । आज हाम्रो समाजमा कोरोना भाइरसको महामारी भन्दा पनि डरलाग्दो रुप लिर्दैछ बलात्कारपछिको हत्या जस्ता जघन्य अपराधीक क्रियाकलापले । जसले गर्दा महिला तथा बालबालिका माथि हुने बलात्कार जस्ता जगन्य हिंसाले हाम्रो समाजमा प्रश्रय पाईरहेको छ । एउटा महिला तथा बालबालिकालाई यौन सन्तुष्टीको चाहनामा खुलेआम बलात्कार गरेर हत्या गरिदैछ । तर पनि हाम्रो राज्य मौन छ ।

 

लामो समयपछि देशमा संविधानले पूर्णता पाए लगत्तै यति बेला संघीय संरचनाको अभ्यास भईरहेको छ । केन्द्रदेखि स्थानीयस्तरसम्म जनताले चुनेका प्रतिनिधिहरुले काम गर्ने अवसर प्राप्त गरेका छन् । तर महिला तथा बालबालिकामाथि हुने हिंसालाई न्युनिकरण गर्न भने सकिरहेको अवस्था छैन । देशमा संघीयता कार्यान्वयन भए लगतै घरघरमा सिंहदरवार पुगी सक्यो अब जनतालाई कुनै पनि डरचिन्ता हुँदैन भनेर जति नै ठूला गफ दिएपनि वास्तवमा भन्नुपर्दा एउटा महिला बलात्कृत भई भने या त कुनै पनि हिंसामा परेकी छिन् भने उनले सरल तरिकाले न्याय पाउन भने अहिलेपनि सकिरहेको अवस्था छैन । अझ गाँस,बास,कपास, शिक्षा, स्वास्थ्य,सुरक्षा लगायतका विषयमा घरघरमा पुगेको सिंहदरवारले न्याय दिने मात्र होइन संरक्षण र संबद्धन गर्नेछ भनेर सरकारले ठूला भाषण गरेपनि आजका दिनसम्म आईपुग्दा एउटा माखो मार्न सकेको छैन । विधिको शासन लागु गरेका छौं भनेर राज्यसत्ताले ठूलो स्वरले आवाज दिएपनि नाबालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई कानुनी कडघरामा ल्याएर संजाय दिन सकेको अवस्था छैन । हुँदा हुँदा सम्झना विक जस्ता नाबालिकालाई बलात्कार पछि हत्या गरियो । जुन दर्दनात्मक घटनाले आज पनि कानुनी राज्यको खल्ली उठाईरहेको छ । तर पनि राज्यसत्तामा बसेर नेतृत्व गर्ने नेतृत्वदायीकर्ताहरु अलिकति पनि महिला तथा बालबालिकाको विषयमा गम्भीर हुन सकेको छैन ।

 

एकपटक सबैले हिंसाका बारेमा बुझ्न जरुरी छ । हिंसा भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिईने यातना, पीडा, दुःख र अपमान हो । यो शारीरिक, मानसिक, यौनजन्य, आर्थिक लगायत जुनसुकै रुपमा पनि हिंसा हुन सक्छ । शारीरिक रुपमा कुटपिट गर्ने, यातना दिने, गाली गलौज गर्ने, मार्ने डर धम्की दिने, जिस्काउने, पशुवत व्यवहार गर्ने, मानसिक रुपमा अपमान गर्ने, गैर कानुनी रुपमा नजरबन्द वा थुवामा राख्ने र हतोत्साहित गर्ने जस्ता कार्यहरु हिंसाका रुपहरु हुन् । त्यसैगरी यौनजन्य प्रकृतिका दुव्र्यवहार वैवाहिक बलात्कार, चेलिबेटी बेचविखन र जवरजस्ती यौन व्यवसायमा संलग्न गराउने, वादी, झुमा राख्ने, छाउपडी लगायत जसले यौन सन्तुष्टिका लागि गरिने गलत नजरियाका गतिविधिहरु पनि हिंसाका रुपहरु हुन् ।

 

हिंसाकै बारेमा अझ सरल तरिकाले कुरा गर्नुपर्दा आजको युग भनेको विज्ञानको युग हो । आज विज्ञानको युगले कतै राम्रो गरेको छ त कतै यसले हिंसा जस्ता जगन्य अपराधका घटनाहरु सिर्जना गरेका छन् । मेरा केही केटी साथीहरुले केटी भएकै कारण भोगिरहेका पीडाहरु मलाई सुनाउने गर्दछन् । प्रायः फेसबुकमा केटीहरु लामो समयदेखि अनलाइनमादेखिएपछि नराम्रो दृष्टिले हेर्ने गर्दछ र जति सक्दो केटीको इच्छा विपरित फेसबुकमा केटीले बोल्न नचाएपनि आफै बोलेर मानसिक तनाव दिएको अनि बोलेन भने त्यो केटीलाई नराम्रो अपशब्द लेखेर पठाउने र गालीगलौज गर्ने गरेको घटना उनले मलाई सुनाईन जसले गर्दा ति मेरा मित्रलाई मानसिक रुपमा तनाव भएर काममा समेत असर परेको उनले बताई यो त एउटा सानो उदाहरण मात्र हो । यस्ता थुप्रै महिला तथा बालिबालिकामाथि हुने हिंसा हाम्रो समाजमा झांगीदै गईरहेको छ ।

 

हामी २१ औं शताब्दीका मानव मात्र होइन महामानवका रुपमा ठूला ठूला कुरा गछौं । अनि महिला र पुरुष एक रथका दुई पाङग्रा हुन् भनेर फुटानी लगाउँछौं तर एउटा महिला आफ्नो कामले आफ्नो इच्छाले फेसबुकमा अनलाइन बस्दैमा यो समाजले महिलालाई प्रश्न चिन्ह खडा गरिरहेको हुन्छ । महिलाको चरित्र माथि प्रश्न चिन्ह तेर्साईरहेको हुन्छ सकेसम्म कसरी हुन्छ बोलेर हुन्छ कि हत्तोसाहित पारेर हुन्छ कि या त मानसिक तनाव दिएर हुन्छ कि एउटा महिलामाथि हिंसा गरिरहेको हुन्छ । किन कि यो समाज भनेको पुरुषवादी चिन्तनले ओतप्रोत भएको समाज हो जसले गर्दा आज पनि महिलाहरुलाई कमजोर मात्र होइन अघि बढ्न हत्तोसाहित बनाई रहेको छ । हामीले ठूला ठूला हिंसाका घटनाहरु गर्नु पर्दैन यस्तै साना साना घटनाहरुबाट पनि महिलाहरुको मनोबल खस्कीरहेको हुन्छ । एक त पुरुषको तुलनामा महिलालाई शारीरिक रुपमा प्रकृतिले नै कमजोर बनाईदिएको छ । महिलाले जति नै मै हुँ भने पनि शारीरिक रुपमा महिला पुरुषको तुलनामा कमजोर नै हुन्छन् तर यसो भन्दै गर्दा बौद्धिक स्तरमा भने पुरुष भन्दा महिला नै अघि छन् । हामी सबैलाई थाहा भएको कुरा हो यो सृष्टि संचालन गर्नकोलागि पनि नरनारीको आवश्यकता पर्दछ तर सबै कुरा बुझेर पनि महिलालाई केवल एउटा यौन वस्तुको रुपमा हेरिर्दै आएको छ । आफ्ना इच्छा चाहना पुरा गर्ने खेनौलाको रुपमा महिलालाई प्रयोग गर्दै आईरहेको छ ।

 

आज हामी प्रायःको मुखारविन्दबाट सुन्ने गर्दछौं महिलाले छोटा लुगा लगाएका कारण नै बलात्कार जस्ता घटनाहरु घटेका हुन् त्यसो भए एउटा ७० वर्षको वृद्ध आमा बलात्कार हुनलाई के उपनाम दिने ? त्यति मात्र होइन पुरा कपडाले शरीर ढाकेर आफ्नो काममा गईरहेकी महिलालाई सामुहिक रेप गरिन्छ त्यसलाई के भनेर जवाफ दिने ?अझ दुःखको कुरा एउटा ६,७ वर्षको नाबालिकालाई समेत त्यस्ता नरपिचासले बलात्कार गर्न छाड्दैन त्यस्ता घटनालाई कसरी लिने आज आम मानिसले गम्भीर भएर सोंच्न जरुरी छ । यस्ता घिनलाग्दा घटनाहरु दिनप्रतिदिनै घट्दै छ यो घटनुको कारण के हो ? के कारणले यस्ता कार्यहरु बढी रहेका छन् ? आज हामी र हाम्रो समाज कता तिर गईरहेको छ ? आज प्रत्येक घरमा जसले छोरीको जन्म दिएको हुन्छ उनका परिवारहरु डराउनु पर्ने समयको सिर्जना भईरहेको छ । किन कि सबैलाई आफ्नो रगतको डल्लो प्यारो हुन्छ तर आफ्नो रगतको डल्लोलाई काखी चाप्दै गर्दा अर्काका सन्तानलाई हामी किन गिद्धे नजर लगाई बलात्कार जस्ता जगन्य घिनलाग्दा कुकर्म गरिरहेका छौं ? आज प्रत्येक मानिसले आफ्नो हृदयलाई साँची राखेर सोच्नु पर्ने समय आएको छ । यहाँ कपडा छोटो लगाएर बलात्कार हुने होइन कि एउटा मानिसको मगज ठीक ठाउँमा भएन भने यस्ता हिंसात्मक बलात्कारका घटनाहरु बढ्ने हो । त्यसैले अरुलाई औंला ठराउनु भन्दा पनि पहिला आफ्नो मगज ठिक ठाउँमा छ कि छैन भनेर सोंच्न जरुरी छ । किन कि आज समाजमा जे जति हिंसात्मक घटनाहरु घटेका छन् सबै पहिला मानिसको मगजमा सेटिंग भएपछि त्यस्ता घटनाहरु घट्ने हुन् । त्यसैले प्रत्येक मानिसले आफ्ना मगजहरु जति सक्दो सकरात्मक रुपमा राख्न सक्ने पक्कै पनि यस्ता हिंसात्मक बलात्कारका घटनाहरुमा कमि आउनेछ । प्रत्येक घरका छोरी बहिनीहरु यस्ता हिंसाबाट बच्ने थिए ।

 

महिला भनेको एउटा यौन चाहना पुरा गर्ने वस्तु मात्र हो भनेर सोच्ने कमजोर मानसिकता अझपनि यो समाजबाट हट्न सकेको छैन । हो हामी मान्छौं प्रकृतिले दिएको कुरालाई नर्कान सकिदैन तर महिलाको इच्छा चाहना विपरित जवरजस्ती करणी गर्नु अपराध मात्र होइन महा अपराध ठहरिन्छ । तर आज हाम्रो समाजमा यस्ता घिनलाग्दा सोंच बोकेका नरपिचासहरु मौलाउंदै छन् । आज महिला तथा बालिकाहरु आफ्नै घरभित्रै सुरक्षित छैनन् न त बाहिर नै सुरक्षित छन् । अकालमा नरपिचास घिद्धेहरुको शिकार भई महिला तथा बालिकाहरुले बलात्कारपछि हत्या भएर ज्यान गुमाउनु परेको छ । यो आलेखमा मैले असल पुरुष र महिलालाई नराम्रो भन्न खोजिएको होइन त्यस्ता नरपिचास व्यक्तिहरुलाई कोड गर्न खोजिएको हो जसले यो समाजलाई दिनडाहाडै दुर्गन्धीत मात्र होइन समाजलाई समेत ठाडो चुनौति दिइरहेको छ । तर हामी सबैलाई थाहा छ सत्य कुरा तितो हुन्छ । सत्य कुरा बोल्दा अरुको अगाडि नराम्रो भईन्छ तर पनि सत्य भनेको सत्य नै हुन्छ किन कि यो संसार सत्यमा टिकेको छ एक दिन जीत पनि सत्यको नै हुन्छ । बलात्कारका घटना अनि हत्याजस्ता जगन्य अपराधीक क्रियाकलापले समाजलाई मात्र होइन कानुनी राज्यलाई समेत चुनौति दिईरहेको छ । यस विषयमा हाम्रा कानुनी पहरेदारहरु चनाखो हुने कि मस्त निन्द्रामा पर्ने भन्ने कुरा आउँछ । यो गम्भीर विषयलाई कानुनी प्रशासनले बुझ्न जरुरी छ । हातमा कानुन भएर मात्र हुँदैन परि आए त्यो कानुनलाई लागु गरी पीडितलाई न्याय दिलाउन सक्नुपर्छ । आजसम्म किन कानुनी राज्यले निर्मला पन्तको केसमा निदाएर बसिरहेको छ ? कारण के हो जनता सडकदेखि सदनसम्म घामपानी भोकप्यास नभनि राज्यलाई खबरदारी गरिरहयो तर आजका दिनसम्म निर्मम तरिकाले हत्या भएकी बालिकाले न्याय पाउन सकेको छैन । यो जस्तो लाजमर्दो कुरो अरु के हुन सक्छ । के यो देश विधिको शासनमा चलेको छ ? आज आम नेपाली जनताले राज्यलाई प्रश्न गरिरहेको छ तर राज्य भने यस विषयमा उदासिन देखिन्छ ।

 

वर्षौदेखि एक त महिलाहरु दोस्रो दर्जाको रुपमा बाँच्नु परिरहेको छ । अर्को तिर महिलाले सुरक्षित भएर आफ्ना चाहना अनुसार काम गर्न सकिरहेको छैन । विहान काममा गएको महिला साँझ घर आईपुग्छ कि पुग्दैन भनेर प्रत्येक छोरी बहिनी हुने बाबा आमा र दाजुभाईलाई चिन्ता भइरहेको हुन्छ । तर के गर्ने मानसिक रुपमै महिलालाई यौन वस्तुको रुपमा हेर्ने यो समाजबाट महिलालाई सरल र सहज तरिकाले बाँच्न गाह्रो छ । अझ श्रीमान गुमाएका महिलालाई झनै त्यस्ता नरपिचासहरुले दिनडाडै कुदृष्टिले हेरिरहेको हुन्छ । मौका पाएपछि ति अबला नारीलाई छताछुल्ल पारी उनको चिरहरण गर्न समेत पछि पर्दैनन् ।

 

होलानन् केही महिलाका पनि केही कमिकमजोरी र बाध्यता तर प्रायः यस्ता घटना घटाउनेमा पुरुषको नै हात हुन्छ । अब प्रत्येक घरका छोरी बहिनीह्रु स्यम आत्मारक्षाकालागि आफै दरिलो बन्न सक्नुपर्छ । आफू कुन बाटो जाँदा सेफ भईन्छ त्यो कुरा बुझ्न जरुरी छ । अब अरुले सुरक्षा दिर्दैनन आफ्नो लागि आफै सुरक्षित हुनु आवश्यक छ । समाजमा हुने यस्ता घिनलाग्दा घटनाहरुलाई समाजदेखि नै पाखा लगाउनकोलागि पहिलो कुरो हामी आम मानिसको मगज ठिक ठाउँमा हुनु पर्छ । प्रत्येक मानिसको मगजले सकारत्मक सोंच्न सक्यो भने यस्ता जगन्य अपराधीत घटनाहरु घट्ने छैनन् र झुटा प्रेमजालमा फसाएर महिलाको भावना र विश्वास सँग खेल्नु अनि बलात्कार पछि हत्या गर्ने अपराधीलाई कडा भन्दा कडा सँजाय दिनुपर्छ ।

समाजमा महिला तथा बालबालिका माथि बलात्कारको शिकार हुने अनि हत्या गरी मार्ने क्रम बढ्दो भयो भने संविधानलाई सच्चाएर त्यस्ता अपराधीलाई फाँसीको सँजाय दिन त्यस्तो खालको कडा कानुन बनाउन जरुरी छ अनि मात्र यस्ता घटनाहरुमा कमि आउन सक्छ । त्यसकारण राज्यले प्रत्येक महिला तथा बालिकाको आत्मा रक्षाकोलागि गम्भीर भएर सोंच जरुरी छ । देशमा राष्ट्रपति देखि मन्त्रीहरु, मेयर उपमेयर अध्यक्ष उपाध्यक्षहरु महिला नै छन् तर एउटा महिला तथा बालिका बलात्कार पछि हत्या हुँदा सम्म न्याय दिलाउन नसक्नु लाजमर्दो कुरो हो । जब एउटा पीडित महिला तथा बालिकाले न्याय पाउन सक्दैन भने ति उच्च स्थानमा बसेका महिलाहरुप्रति कसरी हुन्छ जनताको विश्वास ? त्यसैले पद पाउँदैमा जनताको प्यारो बनिदैन । जनताको प्यारो बन्नकोलागि अन्याय अत्यचार र पीडित भएका महिला तथा बालिकाको हितकोलागि न्याय दिन सक्यो भने मात्र जनताको प्यारो बन्न सकिनेछ ।

 

 

 

अतः यो कोरोना महामारीमा एक त प्रत्येक मानिसको मनबोल कमजोर भईरहेको छ । त्यसको प्रत्यक्ष असर महिला तथा बालबालिका भएका छन् । यो विषयमा राज्य संवेदनशील हुन आवश्यक छ । जनताका अभिभावक भनेकै सरकार हो यो कुरा राज्यसत्ताले हृदयदेखि नै मनन गर्नुपर्छ । समाजमा बढ्दै गईरहेको यस्ता खाले हिंसालाई रोक्न राज्यले सक्दो प्रयास गर्नुपर्छ । महिला तथा बालिकामाथि हुने बलात्कार तथा सबै खाले हिंसा अन्त्य गर्न हामी सबै सचेत तथा विवेकशील मानिसहरु एकजुट भई लाग्नुपर्छ र राज्यलाई न्यायकोलागि खरबारी गर्न कहिल्यै पछि पर्नु हुँदैन ।जसले बलात्कारका केसलाई मेलमिलाप गरेर मिलाउन खोज्दछ त्यस्ता जुनै निकाय भएपनि त्यस्तालाई पनि कानुनी कडघरामा उभ्याउन राज्यले कदापि कन्जुसाई गर्नु हुँदैन । साथै महिलामाथि अन्याय अत्यचार भईरहेको छ भने तपाई पनि चुप लागेर नबस्नुस् किन कि जति अन्याय सहेर बस्यो त्यति नै यो समाजमा मौलाउँदै गरेका गिद्धेहरुले अत्यचारसहित हिंसा गरिरहेछन् । त्यसैले त्यसको कडा जवाफ दिनकोलागि पनि तपाई हिंसा सहेर बस्ने होइन कि त्यसको प्रतिवाद गर्न उठ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार