कर्णाली प्रदेशमा बाढी–पहिरोबाट ४३ जनाको मृत्यु

बिरेन्द्रनगर । कर्णाली प्रदेशमा यो वर्ष बाढी–पहिरोबाट ४३ जनाको मृत्यु भएको छ भने ८ जना अझै बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार वर्षाले निम्त्याएको बाढी–पहिरोले कर्णाली प्रदेशमा २८ जना गम्भीर घाइते भएका छन् ।

बाढी–पहिरोका कारण कर्णाली प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति कालिकोट जिल्लामा भएको छ । कालिकोटमा मात्रै अहिलेसम्म २१ .जनाको मृत्यु भएको छ ।

बाढी–पहिरोमा परेका ६ जना अहिलेसम्म फेला परेका छैनन् भने ९ जना गम्भीर घाइते अवस्थामा छन् । यस्तै, विकट जिल्ला जाजरकोटमा १५ जनाको मृत्यु, २ जना बेपत्ता र ७ जना घाइते भएका छन् । कालिकोट र जाजरकोटसँगै कर्णालीका अधिकांश जिल्लाले यो वर्ष मानवीय क्षति व्यहोरेको छन् ।

बाढी–पहिरोले रुकुम पश्चिममा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।दैलेखमा १ जनाको मृत्यु र ६ जना घाइते, सुर्खेत र सल्यानमा १–१ जनाको मृत्यु भएको छ । वैशाखदेखि शुरु भएको वर्षातबाट मानवीयसँगै भौतिक क्षति पनि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो वर्ष बाढी–पहिरोले कर्णालीका ८० वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने करीब ४ करोड मूल्य बराबर सम्पति क्षति भएको छ ।

कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा मानवीय क्षति नभए पनि बाढी–पहिरोका कारण जनजीवनमा असर पुगेको छ ।००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार