पर्सामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

बीरगञ्ज । पर्सामा जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृतसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जगदम्बा इन्टरप्राईजेजका सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

गण्डक अस्थायी कोरोना अस्पतालमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २, छपकैयाका ७० वर्षीय ज्येष्ठ नागरिकको आफ्नै घरमा मृत्यु भएको थियो । बिहीबार मृत्यु भएका दुवै जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित सीईओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया गरिएको र कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

बिहीबार राति पौनै ११ बजे सीईओको मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयो । साउन १ गतेदेखि हालसम्म पर्सामा कोरोना सङ्क्रमण भएका १० जनाको मृत्यु भइसकेको छ भने अझ चार जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार