७ वटै प्रदेशको मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं, २४ पुस । सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दैछ । ७ वटै प्रदेशको मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।

प्रदेश सरकार गठनको मिति नजिकिएसँगै सत्तारुढ दलहरू सहमति खोज्न छलफलमा जुटेका हुन् ।

शनिबार बालुवाटारमा गठबन्धनका नेताहरुबीच छलफल भएको थियो ।

प्रदेश नम्बर १ मा आइतबार सरकार गठनको अन्तिम समयसिमा रहेको छ । यहाँ समस्या नभए पनि अन्य प्रदेशमा पनि सहमति खोज्ने प्रयास नेताहरूको छ ।

प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ । मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार