मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह– अध्यक्ष तिमिल्सिना

काठमाण्डौ, १९ पुष । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गरेको छ ।

मङ्गलवार स्पिकर्स फोरम नेपालले काठमाण्डौमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएको हो।

अध्यक्ष तिमिल्सिनाले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको सङ्ख्या नै बढाउने काम गर्न नहुनेमा जोड दिए । उनले गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ नागरिकको समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताए । सरकारले २० जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले प्रदेशमा पनि मन्त्रालयको सङ्ख्या बढाउँदा आलोचना खेप्नु परिरहेको भन्दै कम मन्त्रालय बनाउन सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले वर्षौँदेखिका ठेक्का लागेका योजनाहरू अलपत्र रहेका भन्दै सरकारले त्यसमा चासो दिनुपर्ने बताए । उनले जनमुखी काम गर्नका लागि कानुनी समस्याहरू भए संसदमा ल्याएर त्यसको निचोड दिनुपर्ने बताए । उनले सरकारी सेवा प्रवाहमा नागरिकलाई ढिलासुस्ती गर्ने काम हुन नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार