महिला हिंसाको अन्त्य कहिले हुने ?

  प्रियंका भण्डारी  121 पटक हेरिएको

काठमाडौं ।  प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाईन्छ । प्रत्येक वर्ष महिला हिंसा विरूद्धको अभियानलाई महिला अधिकारकर्मीहरुले भव्यरूपमा मनाउँछन् अनि सरकारले पनि विभिन्न प्रतिबद्धताहरु जाहेर गर्छ । तर महिला हिंसाको अवस्था भने जस्ताको त्यस्तै छन् । अहिले त्यहि अभियान चलिरहेका बेला हाम्रो समाजमा हिंसाका कहालिलाग्दा घटनाहरु दिन प्रतिदिन घटिरहेका छन् ।

समाजमा घटिरहेका घटनाहरु हेर्दा लाग्छ महिलाहरुका लागि यो सिंगै संसार असुरक्षित छ । कतै पनि महिलाहरु सुरक्षित छैनन् । कसैले भनेजति दाईजो नल्याएको निउमा कुटिनु परेको छ ! त कसैले प्रेमको नाममा गरिएका अवहेलना सहन नसकेर दिनदहाडै जल्नु परेको छ । छोरीहरु न घरमा सुरक्षित छन् ! न बिद्यालयमा ! नत काम गर्ने ठाउमा नै ! हरेक ठाउमा महिलाहरु कुनै न कुनै प्रकारका हिंसामा परेकै छन् ।

आधा आकाश ओगट्ने महिला भनिएता पनि हाम्रो नेपाली समाजमा सदियौँदेखि चलिआएको पितृसतात्मक संरचना, परम्परा र समाजिक मुल्य मान्यताका नाममा होस या अन्य कुनै बाहानामा अझै पनि महिलाहरु बिभिन्न किसिमका हिंसाका सिकार हुन बाध्य छन् । अहिले हामी २१ औँ शताब्दिमा बिज्ञान र प्रबिधिको आधुनिक युग मा छौ । हामीले जटिल भनिएका कामहरु पनि प्रबिधिको माध्यमद्वारा सहजै फत्ते गर्न सक्छौ । यहि प्रबिधिको युगमा महिला माथि हुने गरेका हिंसाका प्रकृति र प्रवृति भने झनझन् चरम र निकृष्ट तरिकाबाट हुँदै छन्। मानिस शिक्षा र चेतनाले सभ्य हुनु पर्नेमा झन असभ्य र हिंश्रक हुँदै गईरहेको अनुभुति हुन थालेको छ । समय जति प्रगतिशील हुँदै गईरहेको छ त्यतिनै महिला हिंसाका स्वरुपहरु पनि अमानविय र क्रुर हुँदै गरहेका छन् ।

महिलाहरु धेरै प्रकारका हिंसाबाट ग्रसित छन् । त्यसमध्ये अधिकांश महिलाहरु घरेलु हिंसाबाट प्रताडित बनेका छन् । अस्ति भर्खरैको घटना हो १ महोत्तरीकी नेहा चौधरीको दाइजो कम ल्याएकै कारण उनका घरपरिवार र श्रीमानबाट अपहेलित भई कुट्पिट र यातनाको सिकार हुनु पर्यो । नेहा त एउटा प्रतिनिधि पात्र मात्र हुन । हाम्रो नेपाली समाजमा यस्ता सयौँ नेहाहरुछन् । परम्परागत कुसंस्कारले जगडिएको हाम्रो नेपाली समाजमा परिवारको इज्जत र सामाजिक दबावका कारण अधिकांश घटनाहरु सार्वजनिक हँुदैनन् । आँट गरेर सार्बजनिक गरिएका घटनाहरुमा पनि महिलालाइ नै दोषी देख्ने सामाजिक परिवेशका कारण पनि पिडकलाइ थप बल पुगेको महसुस गर्न सकिन्छ ।

हाम्रो जस्तो आर्थिक र सामाजिक पछौटेपनले ग्रसित पितृसतात्मक समाजमा महिलाहरुसंग जहिले पनि सामाजिक लिङ्ग जोडिएर आउने गरेको छ । जहाँ समाजले निर्धारण गरेका मुल्य मान्यता, रितिरिवाज, चालचलन र धर्म संस्कृतिका नाममा पहाडदेखि तराइसम्म उच्च घरियानादेखि सुकुम्बासीका झुपडिसम्म जहाँसुकै र जो कोहिबाट अनेकन हिंसा भईरहेकै छन् । महिला माथि हुने गरेका दुव्र्यवहार र यातनालाई हाम्रो पुरुषप्रधान नेपाली समाजले पुरुषहरुको अधिकार र महिलाहरुको दैनिकिको रुपमा सहजै स्विकार गरेका कारण सामान्य नागरिकदेखि पढेलेखेका भनिएका उच्च ओहोदामा रहेका ब्यक्तिहरु हिंसामा संलग्न भएका छन ।

हाम्रो नेपाली समाजमा महिलाहरुलाई स्वतन्त्रतापुर्वक जिवनयापन गर्न पाउने जन्मसिद्ध अधिकारबाट बन्चित बनाइएको छ । अधिकांश पिडित महिलाहरुको पिडकसंगको सम्बन्ध लाइ हेर्ने हो भने सबै भन्दा धेरै महिलाहरु परिवार र श्रीमानबाटै पिडित भएको देखिन्छ । जन्मजात पुरुषबादि संरचनाको छत्रछयामा हुर्किएका पितृसतात्मक मनसिकताबाट ग्रसित हाम्रो समाजले सधै महिलाहरुलाइ तल्लो दर्जाको ठानेर दुव्र्यवहार गरिरहेका छन् ।

महिलाहरुलाई अधिकार सम्पन्न बनाउन सबै भन्दा पहिले समाजमा व्याप्त रहेका कुरितीहरुलाई परिवार्तन गरि महिला र पुरुषमा रहेका असमान शक्ति संरचना र पितृसतात्मक सोचलाई परिवार्तन गर्नु जरुरी छ र जबसम्म महिलाहरु आर्थिक र सामाजिक रुपमा शसक्त हुदैनन् तबसम्म उनीहरु हिंसामा परिरहने कुरामा दुई मत छैन । त्यसकारण महिला स्यम एकजुट भई आफूमाथि भइहेको हिंसाको प्रतिकार गर्न सक्नुपर्छ । साथै राज्यले पनि महिला माथि गरिने सबैखाले हिंसा र विभेदलाई हटाउन विधिको शासन लागु गर्न पछि पर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार