भागबन्डा गर्ने यो समय होइन जनताको आँशु पुच्छने समय हो

  दीपा आलेमगर  40 पटक हेरिएको

 काठमाडौँ  निमुखा जनता दिन दिनै भोकप्यासले मर्ने अवस्थामा पुगी सकेका छन् तर हाम्रा शासकहरु भने भागबन्डामा रोमलिएका छन् । यो अवस्थामा सरकारले भागबन्डा भन्दा पनि भोकभोकै बाँच्न विवश जनताको आँशु पुछि दिने समय हो । त्यसैले योे समयमा आफ्ना जनताहरुलाई कसरी बचाउन सकिन्छ त्यो कुरालाई मनन गरी सरकारले भागबन्डा भन्दा पनि ति आवाज विहिन जनताहरुलाई बचाउने र उचित ठाउँमा व्यवस्थापन गर्ने अभियानमा लाग्नु नै उत्तम हुनेछ ।

 

आजको समय हिजोको दिनहरु जस्तो सरल छैन । आज हामीले विभिन्न प्रकारका समस्याहरु झेरेर अघि बढ्नु पर्ने अवस्था आई परेको छ । त्यसमध्ये सबै भन्दा जटिल र जोखिम अवस्था भनेको आजको दिनसम्म भईरहेको कोविड १९को सामना गर्नु हो । आज यही कोविडकै कारण मानवजातीको जीवन अस्तवस्त भईरहेको छ । हिजो काम गरेर खाने मानिसहरु आज काम गर्न नपाएर भोकभोकै मर्ने समयको सामना गरिरहेका छन् । एकपटक हामी घर बाहिर गएर मानिसहरुको जीवनचर्याको बारेमा दृश्याअवलोकन गरयौ भने सबै घटनाहरु हाम्रा आँखा अगाडि प्रष्ट देखिन्छ । किन कि मानिसले हाँसो लुकाउन सक्छ तर आफूमाथि आई परेका दुःख पीडा विपति लुकाउन चाहेर पनि सक्दैन । आज विश्वले यो समस्या भोगि रहेको छ तर हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा मर्ने भनेकै निमुखा जनताहरु हुन् । चाहे मानिस धनि होस चाहे गरिब सबैलाई आफ्नो ज्यानको माया लाग्छ । आज मानिसहरु यसरी छट्पटी रहेका छन् उनीहरुको दुःख नजिक गएर हेर्ने साहस जोकोहीमा नहुन सक्छ । तर आलिशान दरवारभित्र बसेर नेपालको बारेमा ब्याख्या अपब्याख्या गर्ने यो राज्य भने यति बेला पनि मुकदर्शक बनेर बसिरहेको छ । आज जनता सडकपेटीमा मरि रहदा ति निमुखा जनतालाई सरकारले उनीहरुको गाँस, बास र कपासको व्यवस्थापन गर्न नसक्दा साँच्चै नै म कस्तो देशमा जन्म लिएकी रहेछु भन्ने प्रश्नले मलाई सधैं नै भावविहिल बनाउँछ सायद अन्य मानवीय हृदय भएका मानिसहरुलाई पनि यस्तै भयो होला । देश र जनतको हितकोलागि हजारौं विचारविर्मशहरु लेखेर राज्यलाई खबरदारी गर्ने क्रम हिजो पनि थियो आज पनि छ र भोलि पनि रहेछ तर राज्य कति निर्दयी रहेछ भन्ने कुरा ति सडक पेटीमा भोको पेट गाँस, बास र कपासको जोहो गर्न नसकेर भकानीएर रोइरहेका रोदन अनुहारले आजभोलि मलाई निन्द्रा त के भोक लाग्न पनि छाडी सकेको छ । जब म खाना बनाएर एक गाँस के खान थालेकी हुन्छु ति खानाको गाँस मुखमा नपुराईदै गर्दा ति सडकपेटीमा बलिन्द्र आँशुका धारा खसाल्दै रोईरहेको दद्रनात्मक दृश्यले मेरो हृदय पोलेर खाना खान समेत छाड्न थाली सके । म त एउटा उदाहरण मात्र हो म जस्ता हजारौं नेपाली मनहरु आज यसरी नै रोइरहेका छन् ति निमुखा जनताहरुको अवस्था देखेर ।

 

समय प्रतिकुल छ दिनदिनै मानवीय जीवनमा यस्ता अति नै तिता घटना र निर्दयी दृश्यहरुले बारम्बार झस्काउने गर्दछ तर अहः मेरो राज्यलाई भने कति पनि चिन्ता र चाँसो र पीडा छैन । अचम्म लाग्छ ति आवाज विहिनहरुको आवाज आज खुला आकाश भूमि बिताउन बाध्य भएका छन् । भोको पेटले उनीहरुको आत्मा कति रोएको होला तर अहः मेरो देशको शासकहरुलाई रत्तिभर चिन्ता छैन । कहिले त सोच्ने गर्दछु ति निमुखा जनताहरु यसरी भोकभोकै मरि रहन्दा हाम्रा सिंहदरवार भित्रका शासकहरु, बालुवाटारमा बसेका शासकहरु अनि राष्ट्रपति भवनमा विराजमान भएर बसेका यो देशका शासकहरु कसरी चैनसँग निदाउन सकेका होलान् । अनि मुर्छा परेर कसरी हाँस्न सकेका होलान् । अन्य भष्ट्रचार र घुषखोरीको कुरा छाडौं त्यसको कुरा गरि साध्य छैन तर हालको वर्तमान अवस्थाको बारेमा बुझ्दा देशका विभिन्न जिल्लाहरुमा ति आवाज विहिन जनताहरु मरिरहेका छन् तर राज्यले जति आफ्ना जनताहरुलाई सेवा र सुविधा र रक्षा गर्नु पर्ने हो तर त्यो भूमिका रतिभर छैन ।  आज देशको विभिन्न जिल्लाहरुमा बाढीपैरोले जनताहरु मरिरहेका छन् तर हामीले केवल टुलुटुलु हेर्ने काम भएको छ । मानिसको ज्यान गएपछि हाम्रा सम्बन्धीत निकायहरु त्यहाँ उद्धारकालागि पुग्ने गर्दछन् । हाम्रो देशका शासकहरुलाई राम्रोसँग थाहा छ आफ्ना जनताहरु त्यस्ता डरलाग्दा भिरपाखामूनि बसेपछि एक न एक दिन बाढीपैरोले ज्यान लग्न सक्छ भनेर तर उनीहरुलाई सुरक्षित स्थानमा राख्न सक्ने हैसियत आजका दिनसम्म पनि बनाउन सकेको छैन । बनाउन सकेको छ त केवल आफ्ना कार्यकर्ता, नातागोता आफन्तलाई कहाँ र कुन पदमा सेटिङ्ग गर्ने हो र कसरी देशको ढुकुटी रित्याउने हो आजसम्म जुनै दलबाट सत्तामा पुगेपनि मेरै गोरुको बारै टक्का भने जस्तै गतिविधि भईरहेको छ ।

 

आज जनताहरु यो देशको शासकहरुको हविगत देखेर पीडित भईसकेका छन् किन कि निमुखा जनताले जति नै बोले पनि कराए पनि आन्दोलन गरेपनि शासकहरुले जनताहरुको आवाजलाई सुनुवाई गरेको छैन । सत्ता र शक्तिमा बसेपछि ति दिनदुःखी जनतालाई हेर्नु राज्यको काम र कर्तव्य हो तर सेवा सुविधाको नाममा आफ्नै कार्यकर्ता र नातागोताको पेट भर्न व्यस्त देखिन्छन् । एका तिर समय प्रतिकुल अवस्थामा छ भने अर्को तिर हाम्रो घर आँगनबाटै छोरीचेलीको अस्मिता लुटिदै गईरहेको छ । तर राज्यले ति अभियुक्तलाई कारवाही गर्न सकेका छैनन् आज पनि निर्मला पन्त जस्ता सयौं बालिकाहरु वलात्कृत भएर ज्यान गुमाउनु परेको छ । यस विषय राज्यको भूमिका खै ? भाषणमा एउटा र व्यवहारमा अर्को क्रियाकलाप हेर्न बाध्य छन् नेपाली जनताहरु । आजको दिनसम्म आउँदा पनि ति आवाजविहिन जनताहरुको जीवनमा कहिल्यै खुशीयालीले छाउन सकेको छैन ।

 

आज भन्नै पर्छ । ति निमुखा जनताहरुकोलागि राज्यले आजसम्म सही ढंगले काम त गर्न सकेन  अर्को कुरा उनीहरुको गाँस, बास र कपासको व्यवस्थापन पनि गर्न सकेन तर प्रतिपक्षमा बसेका आफूहरुलाई यो देशको वरिष्ठ नेता भनेर चिनाउने त्यस्ता दलका नेताहरु आज कुन दुलो भित्र लुकेर बसेका छन् ? अझ घिनलाग्दो त्यस्ता दलका नेताहरु हुन जसले भाषण आसन मात्र खोज्ने तर जनताको घाउमा मलमपटट्ी लगाउनु पर्दा लुकेर बस्ने त्यस्ता च्याउ उम्रे जस्ता दलहरुको पनि कुनै काम छैन । जनताको सेवा भन्दा पनि सत्ता शक्तिको दाउमा उफ्रिएका दलहरु आज किन ति निमुखा जनताको भोको पेट भर्नकोलागि फन्टलाइनमा आएर काम गर्न सकेका छैनन् । हुने खाने जनतालाई यो समयमा सेवा सुविधा दिनु पर्दैन तर ति निमुखा जनता जसकोलागि न त गाँसको व्यवस्था न त बास तर उनीहरुकोलागि तपाईहरुको सहयोगी हात कता गए । तपाईहरुको भूमिका खै ? आज आम नेपाली जनताहरुले तपाईहरुलाई प्रश्न गरी रहेका छन् । यो बेला सरकारलाई खबरदारी गर्दै जनताको दुःखमा साथ र सहयोग दिन ति प्रतिपक्षमा बसेका जति पनि दलहरु छन् आज तपाईहरु फन्टलाइनमा आएर काम गरेर देखाउनु सक्नुपर्छ अनि मात्र जनताले तपाईलाई आगामी चुनावमा उचित मुल्यांकन गर्नेछन् । तर तपाईहरु पनि आलिशान भवनमा बसेर जनताको दुःखलाई समाचारमा हेर्दै कठै मेरा जनता भनेर कथा सुनाउनु लाजमर्दो हुनेछ । समयमै प्रतिपक्षमा बसेका दलहरुको पनि बल र बुद्धि भन्दा पनि यति बेला मन र विवेकले काम गर्न जरुरी देखिन्छ । किन कि आज तपाई सत्तामा नभएपनि हिजो त सत्तामै बस्नुभएको थियो त्यसैले ति निमुखा जनताको सेवामा तपाईहरु कदापि भाग्न पाउनु हुँदैन । अब जनताको घाउमा फन्टलाइनमै गएर मलम पटटी लगाई रियल हिरो बन्ने समय आएको छ । भाषण र आसन गर्ने समय यो होइन ।

 

आज हामीलाई हाम्रो वर्तमान सरकारको काम गर्ने तवर तरिका देखेर मुख छोप्नु पर्ने अवस्था सिर्जना भएको छ । काम कुरो एकातिर कुमलो बोकी ठिमी तिर भने जस्तै आज सरकारको काम गर्ने शैली देखिएको छ । जनता सडकका पेटी र चौकमा भोकभोकै भएर मर्ने अवस्था आई पर्दा पनि राज्यले उनीहरुलाई सेवा दिन नसक्दा उनीहरुको दुःख देखेर सहन गर्न नसक्ने व्यक्तिहरु र केही सहयोगी हातहरु गएर उनीहरुको भोको पेट भर्ने काम भईरहेको छ । यो रमिता कहिल्यैसम्म म राज्यलाई प्रश्न गर्न चाहान्छु तपाईहरुको जनता प्रति गर्नु पर्ने भूमिका र दायित्व के हो ? सरकारमा बसेर मात्र हुँदै समय अनुसार देशमा के के भईरहेको छ आफ्ना जनताहरुले खाएका छन् कि मरेका छन् उनीहरुको बारेमा चिन्ता र चाँसो लिन सक्नु पर्छ । तर आफ्ना पार्टीका कार्यकर्ता भए सबै मेरा अन्य पार्टीका कार्यकर्ता भए सत्रुको जस्तो व्यवहार गर्नु राम्रो होइन । हिजो दलको राजनीतिक गरेर सत्ता शक्तिमा पुगेका शासकहरुले सबै जनतालाई समान नजरले व्यवहार गर्न सक्नुपर्दछ । विचारगत भेदभाव नराखी जुनै दलमा आस्था राख्ने नेपाली जनता भएपनि सरकारले उनीहरुलाई दुःख पर्दा सेवा सुविधा दिनु राज्यको कर्तब्य र जिम्मेवारी हो । आज तेरो मेरो जस्ता कमजोर मानसिकताले गर्दा नेपाली जनताहरुको मनोबल घट्दै गईरहेको छ तर शासकहरुले रतिभर महसुस गर्न सकेका छैनन् । तर पनि ति निमुखा र अफ्ठयारामा परेका जनताको हितकोलागि आवाज नउठाई मनले मानेन त्यसैले म ति पीडित जनताहरुको तर्फबाट उनीहरुको आवाज राज्यले सुनेर छिटो सम्बोधन गरोस् भन्न चाहान्छु ।

 

अब ति निमुखा जनताहरुलाई बचाउनकोलागि राज्यले चाँडो भन्दा चाँडो गर्नु पर्ने केही विषयहरु यहाँ प्रष्टाउन चाहान्छु । सक्छौं तिम्रा बलबुद्धि र विवेकले जनताको हितकोलागि काम गरेर देखाऊ र उनीहरुको आँशु पुच्छने काम गर यदि जनताकोलागि सेवा गर्न सक्दैनौं भने यसरी हाँसोको पात्र भनेर सरकारमा बस्नुको कुनै औचित्य छैन । यसरी सरकारविरुद्ध आवाज उठाउदै गर्दा सरकारले काम नै गरेको छैन भन्न खोजिएको होइन तर जनहितकोलागि जति काम गर्नु पर्ने थियो त्यति काम गरेको छैन त्यसकोलागि छिटो काम गरोस् भन्न मात्र खोजिएको हो । ताकि मान्छे जिउँदै हुँदा सरकारले उनीहरुलाई उद्धार गर्न सकोस् मरि सकेपछि गएर साहनुभूति देखाउनुको कुनै तुक छैन । किनकि प्रत्येक नेपाली जनतालाई अधिकार छ सरकारलाई आफ्ना गुनासा र समस्याहरु सुनाउनकोलागि यसमा कुनै पनि दलले मुख खुम्चाउनु पर्दैन । किन कि जुनै पार्टीबाट सरकारमा गएपछि सरकार भनेको सबैकोलागि हो भन्ने कुरा आम नेपाली जनतालाई राम्रो सँग थाहा छ त्यसैले वास्तविकता र सत्यतालाई कुल्चीएर आँखामा जानी जानी पटटी लगाउनु र गलत लाई सही हो भनेर बोल्नु आफैले आफैलाई आत्माठगी गर्नु हो । यसको जवाफ समयले दिनेछ ।

 

आज विश्वमा कोरोना भाइरसकै कारण १० लाख भन्दा बढी मानिसहरुले अकालमा ज्यान गुमाई सके भने ३ करोड ३३ हजार भन्दा बढी मानिसहरु कोविड १९को संक्रमणको शिकार भएका छन् । त्यसको प्रभाव हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा तिब्र रुपले असर परेको छ । जसले गर्दा आज कति मानिस रोगले मरे कति भोगले मरे कति शोकले मरे । तर अझ पनि कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गईरहेको छ यो अवस्था कहिलेसम्म हो यो विषयलाई राज्यले ध्यान दिनुपर्छ र तत्काल ति अफ्ठयारामा परेका जनताहरुको गाँस, बास र कपास लगायत उनीलाई काम गरी खाने सुरक्षित रोजगारको व्यवस्था राज्यले चाँडो गर्नुपर्छ । कुन कुन जिल्लामा बढी जनताहरु यसरी भोकभोकै बाँच्न बाध्य छन् ति क्षेत्रमा केन्द्रीय सरकार देखि प्रदेश सरकार र स्थानीय सरकारको विशेष पहल हुन सके जनताहरु अकालमा मर्ने छैनन् । जब मानिसको चारैतिरको ढोका बन्द हुन्छ तब मानिसले बाध्य भएर मर्नु पर्ने अवस्था आई पर्छ । त्यो दिन हामी नेपाली जनताले देख्न र सुन्न नपरोस् । यो कुरा हालको वर्तमान सरकारले चाँडो बुझेर व्यवहारमा कार्यान्वयन गरोस् अहिले पार्टीगत भागबन्डा शक्तिको लुछाचिडी गर्ने समय यो होइन यदि अलिकति पनि आफ्नो पदको मर्यादालाई ख्याल राख्ने हो भने देश विदेशमा तड्पीएर बाँच्न विवश ति नेपाली जनतालाई उद्धार र बचाउने काम गर्न तिर राज्य अघि बढ्नुपर्छ । जनताको साहरा भनेकै राज्य हो जनताको अभिभावक भनेकै सरकार हो । जब जनतालाई दुःख र पीडा हुन्छ तब राज्यले उनीहरुको संरक्षण र संबद्धन गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार