काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताए ।
बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र समयपछि फुल्ने र फल्ने बताएका हुन् । उनले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए ।
अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे । उनले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताए । उनले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने उल्लेख गर्दैले आफूबिना कसैलेपनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गरे ।