सदगुरूको ‘माटो जोगाऔँ’ अभियानको समर्थनमा नेपाली स्वयंसेवकहरूको सक्रियता

योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सदगुरूद्वारा पहल गरिएको “माटो जोगाऔँ” (सेभ सोइल) नामक विश्वव्यापी अभियानको १०० दिने यात्रा २१ मार्चबाट शुरु भएसँगै, सो अभियानले विश्व स्तरमा थुप्रै क्षेत्रहरूबाट व्यापक समर्थन पाइरहेको छ । संसारभरिबाट प्रसिद्ध कलाकारहरू, खेलकुदकर्मीहरू र नागरिकहरूका साथसाथै राजनीतिक, व्यावसायिक, सामाजिक, पर्यावरणीय र साँस्कृतिक क्षेत्रका नेतृत्वकर्ताहरूले समेत अभियानलाई समर्थन गरिरहेका छन् । नेपालमा समेत सो अभियानलाई समर्थनहरू प्राप्त भइरहेको छ ।

“माटो जोगाऔँ ! अहिल्यै केही गरौँ । आउनुहोस्, यसलाई साकार पारौँ” जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी लगभग ५० जना भूमित्रहरू (स्वयंसेवकहरू) उक्त अभियानबारे जनचेतना फैलाउने उद्देश्यसहित चैत्र २१ गते कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्यू गिनी विरुद्ध नेपालको खेल हेर्न पुगेका थिए । खेल सकिएपछि भूमित्रहरूले नेपाली क्रिकेट टीमका कप्तान सन्दीप लामिछने, प्रशिक्षक पुवुदु दासानायके तथा अन्य खेलाडीहरू साथै नेपाली क्रिकेट सङ्घका सदस्यहरूलाई ’माटो जोगाऔँ’ अभियानबारे जानकारीहरू दिएका थिए । कप्तान सन्दीप लामिछने र अन्य खेलाडीहरूले भूमित्रहरूसँगै ब्यानर र प्लेकार्डहरू बोकी सद्गुरुद्वारा थालनी गरिएको सो विश्वव्यापी अभियानलाई शुभकामना दिएका थिए । यसअघि पूर्व कप्तान पारस खड्काले समेत आफू माटो जोगाऔँ अभियानको समर्थनमा रहेको उल्लेख गरी यस अभियानमा संलग्न सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

त्यसैगरी, सोही अभियानलाई समर्थन गरिरहेका भूमित्रहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने क्रम जारी छ । कर्मले पनि आफू भूमित्र भएको बताउने २६ वर्षिया शिक्षा लम्सालद्वारा टोखा नगरपालिका वडा नं. १ स्थित ‘भूमि मङ्गलम एग्रो फार्म’ मा चैत्र १९ गते एउटा कार्यक्रम आयोजना गरिएको थियो । सद्गुरुद्वारा थालनी गरिएको ‘माटो जोगाऔँ’ अभियानमा समर्थन जनाउने साथै उपस्थित सबैलाई माटो (भूमि तत्त्व) अनुभव गराउने उद्देश्यसहित लगभग १५० जना भूमित्रहरू भेला गरिएको उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं. २ स्थित लक्ष्मीपुर इङ्ग्लिश सेकेण्डरी विद्यालयका विद्यार्थीहरूले ‘सोइल सङ’ अर्थात् माटोको लागि रचिएको गीतमा नृत्य प्रस्तुत गरेका थिए । विभिन्न साँस्कृतिक पोशाकमा सजिएका स्वयंसेवकहरूद्वारा धीमे बाजाको तालमा लाखे नाच गरी शुरु भएको सो कार्यक्रममा उपस्थित सबैले वृक्षारोपण गरी कार्यक्रमको समापन गरेका थिए ।

माटो जोगाऔँ अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू अर्थात् विश्वभरिका ६०% मतदाताहरूको समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि माटो–मैत्री नीतिहरू बनाउन विश्वभरिका सरकारहरूलाई सहयोग गर्ने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार