भक्तपुरको विस्का जात्रामा ५५ हात लामो लिगों ढालियो

भक्तपुर, १ बैशाख । भक्तपुरको विस्का जात्राको क्रममा ५५ हात लामो ल्योसिंद्य (लिगों) बिहीबार ढालिएको छ ।

बिहीबार साढे तीन बजे उठाइएको ल्योसिंद्य ठिक सात बजे ढालिएको हो । परम्परा अनुसार ल्योसिंद्यो प्रत्येक वर्ष चैत मसान्तमा उठाइन्छ र नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ढालिन्छ ।

तर, यो वर्ष बुधबार उठाउन सकिएन । त्यसपछि ल्योसिंद्योलाई बिहीबार मात्रै उठाउन सफल भइएको हो ।

वर्षको अन्तिम दिन उठाउने ल्योसिंद्य वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो दिन नै ढाल्नुपर्ने परम्परा अनुसार बिहीबार ढालिएको हो ।

अघिल्लो वर्ष उठाएर नयाँ वर्षमा ढाल्नुपर्ने परम्परा भए पनि वर्षको अन्तिम दिन उठाउन नसक्दा वर्षको पहिलो दिन नै उठाएर त्यही दिन ढाल्ने परम्परा छ। यसरी परम्परा अनुसार वैशाख १ गते बिहीबार ल्योसिंद्य ढालिएको हो ।

प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो यो ल्योसिंद्य उठाइन्छ र ढालिन्छ। ५५ हात लामो र ठूलो भएका कारण यो ल्योसिंद्य यस मात्रै मात्रै होइन, गतवर्ष पनि निर्धारित दिनमा उठाउन असफल भएको थियो ।

आठ वटा डोरीको सहायताले सयौं युवाले सामूहिक बल प्रयोगबाट मात्रै यो ल्यासिंद्यो उठाउन सफल हुन्छ । नर्याँ वर्षको साँझ डोरीको सहायताबाटै ल्योसिंद्यो ढालिन्छ ।

आठ रात नौ दिन लामो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षण नै यो ल्योसिंद्य उठाउनु र ढाल्नु हो। यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु आउने गर्दछन् ।

यसअघि नयाँ वर्ष चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो ।

प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए ।

ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्वन्धी अनेक किंम्वदन्ती छन् ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार