नयाँ वर्ष किन मनाईन्छ ?


नव बर्ष विक्रम संवत् २०७९ साल शुरु भएको छ । नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी…. नयाँ वर्ष । वर्षभरिका योजना सफल रहोस् भन्ने कामनाका साथ शुभकामना आदनप्रदान गरी धूमधामले नयाँ वर्ष मनाउने गरिन्छ । नेपालमा मात्र नभई भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि बिक्रम सम्बत मनाउने प्रचलन रहेको छ ।

पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमितिमा फरक–फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ तीमध्ये विक्रम संवतको नयाँ वर्षको सुरुवात वैशाख एक गतेदेखि हुन्छ । नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको जनविश्वास छ । लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहूकुहू र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्तऋतुको मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्ष आगमन हुन्छ ।

नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो। यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।

 


संस्कृतिका ज्ञाता प्रा.डा. मुकुन्द अर्यालका अनुसार विश्वमै समय गणनाका विभिन्न आधार प्राचीन कालदेखि नै चलिआएको पाइन्छ । पश्चिममा विभिन्न इरा तथा भारतवर्षमा युगको चलन छ । तिनै युगहरूभित्र पनि समयका विभिन्न चक्रका रूपमा संवत्लाई लिइन्छ । संवत्को अर्थ वर्ष, साल, इयर आदि हुन् । काल गणना अनुसार तिनै फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन् यद्यपी पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न धारण छ ।

विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वानहरूबीच समानता छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन् कुनै टुङ्गो छैन । कतिपयले यो संवत् नेपालकै एक राजाबाट चलाइएको हो समेत भनेका छन् तर त्यसको पनि पर्याप्त आधार पाइँदैन् । सौरमानका अनुसार विक्रम संवत् सूर्य मेष आदि १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालतिरदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि जोडिएको पाइन्छ ।


नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् ।


नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ ईष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाने आदि गरिन्छ । यो दिन नेपालमा सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक तथा व्यक्तित्व विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार