पुरुषप्रधान साेंचले ग्रसीत समाजमा, आधुनिक महिलाको अवस्था

  अमृता तामाङ  393 पटक हेरिएको

मानव जातिको उत्पत्तिदेखिनै मानवले बाँच्नका लागि हरेक संघर्ष गदै आए प्राकृतिक रुपमा नै महिला र पुरुष बीच लैङगीक विभेदहरु रहदै आएका छन् । लैङगीक विभेदहरु हिजोको ढुङ्गे युगमा पनि थियो र आजको बैज्ञानिक युगसम्म आईपुग्दा पनि यो रोग हाम्रो समाजबाट हट्न सकिरहेको छैन् । जसले गर्दा आज पनि महिलमाथि लैङगीक आधारमा विभेद गरिर्दै आएको छ।

महिला र पुरुषलाई शारीरिक रुपमा तुलना गर्दा महिलाहरु केही हदसम्म शरीरिक रुपमा कमजोर नै हुन्छन् । मानव जातिको सुरुवाती अवस्था देखि नै महिलाहरु घरको काम गर्ने र बच्चाहरु हुकाउने गथ्र्याे भने पुरुषहरु घरको काम गदथ्र्यो र पुरुषहरु स्वतन्त्र रुपमा बहिरा हिडडुल गर्न थाल्यो र पुरुषले हरेक कुरा जान्ने, बुझ्ने मौका पाए र समाजमा समाजको हरेक नीति नियम आफैले बनाएको हुनाले पुरुषले बाहिरको काम गर्न थाल्यो भने महिलाहरुलाई घरै भित्रै सिमित गराए । समाजको सुरुवाती अवस्था देखि नै पुरुष शासक र महिला शोषितको रुपमा स्थापित भए, नेपाल पुरुषप्रधान देश हो । यसको प्रभाव समाजमा अघोषित रुपमा रहेको परम्परा रितिरिवाजका कारणले महिलाहरु शोषित भएर बाँच्न बाध्य भए ।

पुरुषप्रधान सोंच र समाज

नेपाली समाजमा महिलाहरुलाई राज्यको हरेक तह तप्का देखि लिएर समाजको समाजको जुनसुकै कार्यबाट पछाडि पारिएको छ । एउटी महिला सबै भन्दा पहिला उ उसको घर बाट नै विभेद हुन्छ । एउटै घरबाट हुर्केको छोरा र छोरी बीच विभेद गराएको हुन्छ । छोरालाई राम्रो प्राईभेट स्कुलमा पढाउँछ भने छोरीलाई सरकारी स्कुलमा पढाउने र छोरीलाई पढाउदै नपढाने प्रचलन रहदै आएको छ । हाम्रो समाजमा रुढीवादी परम्पराहरुले गर्दा पनि महिलाहरु पछाडि परेका छन् । विशेषत अन्य धर्ममा भन्दा हिन्दु धर्ममा महिलाहरुलाई विभेद गरिएको पाईन्छ । यो धर्ममा महिला र पुरुषलाई तल्लो जात र माथिल्लो जात भनेर विभेद गरिएको छ । यो धर्मले महिलालाई तल्लो जात, अछुत जात, अशुद्ध जात भनेर विभेद गरिन्छ भने पुरुषलाई माथिल्लो जात, शुद्ध जात, अछुत जात भनि हेपाईको दृष्टिले हेरिन्छ । हाम्रो समाजमा छोरा र छोरी बीच छुट्याउने धेरै उखानहरु प्रचलित छन । जस्तैः छोरा जन्मे खसी छोरी जन्मे फर्सी, छोरी भनेको अरुको नासो हो भन्ने उखानहरु प्रचलित छन् । हाम्रो समाजमा छोराले स्र्वगको ढोका खुलाउने र स्र्वगमा लैजान छ भन्ने अन्धविश्वासहरु रहदै आएको छ । त्यसैको प्रभावले होला हाम्रो समाजमा महिलाहरुलाई सरकारी तह तप्कामा पुग्न र कुनै पनि सामाजिक, आर्थिक, राजनीति कार्यहरु गर्न स्वतन्त्रता छैन् । तर पछिल्लो पटक लामो समयको सशस्त्र जनआन्दोलनको उपलब्धीले भने संविधानमै महिलाको हकहितकोलागि अधिकार स्थापित गरेको हुनाले केही हदसम्म महिलाहरुलाई अघि बढ्ने हौसला र प्रोत्साहन बढेको छ । तर अहिले पनि खुलेर काम गर्ने बातावरण भने हाम्रो समाजमा बनि सकेको अवस्था छ ।

 

जसले गर्दा हाम्रो समाजमा महिलाले कुनै पनि काम गर्न सक्छ भन्ने विश्व नभएको र केहि काम गर्न खोजियो भने औँला उठाउने र खुट्टा तान्ने प्रवृत्ति रहदै आएको छ । कुनै पनि ठाउँमा गएर स्वतन्त्रता भएर हिड्ने अवस्था छैन् । त्यसै कारणले गर्दा पनि हाम्रो समाजको आर्थिक नीतिले महिलालाई पुरुषको सहयोगीको रुपमा मात्र उभ्याएको छ । हाम्रो समाजमा कुनै पनि आर्थिक कारोबारमा महिलाको कुनै पनि भुमिका हुदैन् र पैतृक सम्पत्तिमा पनि महिलाको कुनै अधिकार हुदैन, नेपालको अन्तरिम संविधानमा छोरो सरह छोरीलाई पनि समान अधिकार छ भनेर उल्लेख गरिएको छ भने त्यो कार्यन्वयन भने हुन सकेको छैन । हाम्रो समाजमा राजनीति रुपमा हर्ने हो भने पुरुषको तुलनामा महिला कम रहेको छ । राजनीति पार्टी भित्र पनि विभेद रहेको पाईन्छ । कुनै पनि राजनीति पार्टी भित्र ठुलो ठुलो पदमा पुरुष हुन्छ भने सहयोगीको रुपमा महिलालाई सहभागी गराएको हुन्छ । यसको गतिलो उदारण भने वि.सं. २०७४ सालको स्थानीय चुनाव र प्रदेश सभाको तथ्याङ्कालाई हेर्ने हो भने मुख्य पदमा पुरुष रहेको छन् भने सहायक पदमा महिलालाई सहभागि गराएका छन । वि.सं.२०७४ सालको प्रदेश सभाको चुनावमा प्रमुख उम्मेदारमा पुरुष रहेको छ भने उप प्रमुखमा महिला लाई सहभागि गराइएको छ । स्थानीय चुनावमा पनि मेयरमा पुरुष रहेको छ भने उप मेयरमा महिला रहेका छन् भने वडा तहमा पनि वडा अध्यक्षको उम्मेदार पुरुषलाई बनाएको छ भने महिलालाई वडा सदस्यको उम्मेदार बनाएको तथ्याङ्कहरु हामीले हेर्न सकिन्छ । समयले कोल्टे फेरिए पनि हाम्रो समाजले कोल्टे फेर्न सकिएको छैन । अझै पनि हाम्रो समाजले महिला पनि आधा अकाश ढाँकिएर रहेको यो समाजको हिस्सा हो भनेर बुझ्न सकेको छैन् ।

हाम्रो समाजमा महिलाको आधुनिक अवस्था

२१ औं शताब्दीको अन्त्य तिर आईपुग्दा पनि महिला पुरुष बीचको खडाल अझै पनि पुरिन सकेको छैन । आधुनिकीको प्रभावले वा पारिवारीक दबावले शिक्षित समाजमा प्रविधिको विकाश सँगै छोरा छोरी बीचको विभेद गर्भबाट नै गर्न थालियो जुन पिडा छोरीले नै भोग्नु परेको छ। कुनै पनि एउटा सन्तान छोरी भएर गर्भमा रहन्छ भने उसको लागि आमाको काख नै असुरक्षित बन्न पुग्छ छोरा जन्माउने आशामा छोरीको ३ महिनामा नै भु्रण हत्या गरिन्छ । नेपाली महिलाको वर्तमान अवस्थालाई हेर्ने हो भने काठमाडौं र काठमाडौं आसपासको महिलाहरुको शैक्षिक अवस्था, राजनीतिक अवस्था, सामाजिक अवस्था, आर्थिक अवस्था र उनीहरुको लवाई, खुवाईलाई हेर्ने हो भने नेपाली महिलाहरुको अवस्थामा परिवर्तन आएको हो कि ? भन्न सकिन्छ तर नेपाली समाजमा छाउपडी प्रथा, झुमा प्रथा, देउकी प्रथा, कुमारी प्रथा, कमलरी प्रथा अझै पनि हट्न सकेको छैन् । विडम्वना लाग्छ नेपाली समाजको अवस्था नेपालको प्रमुख पद राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायधीश महिला भईसक्दा पनि नेपाली दिदी बहिनीहरुले छाउ गोठमा बस्नु पर्ने बाध्यता अछुत जात, तल्लो जात, अशुद्ध जात भनेर तल्लो स्तरमा राखिएको पिडा सुन्दा दुःख मात्र होइन हामी कुन समाजमा छौं भन्ने लाग्छ हाम्रो समाजको अवस्थालाई नियाल्दा नेपालमा हिन्दु धर्मको शास्त्र अनुसार कुनै पनि एउटी छोरी पहिलो चोटी मिन्सुरेन्स (छुई) हुदाँ उसले आफ्नो बुबा, दाजु भाईको सामु पर्नु नहुने र आफुलाई लुकाउनको लागि छाउ गोठामा बस्नु पर्ने बाध्यता र छाउ गोठामा बस्दा सर्पको टोकाईबाट मृत्यु भएको घटना तथा छाउगोठमा बस्दा कतिपय महिलाहरुमाथि जगन्य अपराध जस्ता बलात्कार तथा हिंसात्मक घटना हाम्रो समाजबाट लुक्न सकेको छैन । दिनप्रति दिन हाम्रो समाजमा महिला हिंसा, महिला बेचविखन, महिलाहरुलाई तेजाव छर्काउने, बलात्कार र बलात्कार पछिको हत्या जस्ता घट्नाहरु भईरहेको कुनै पनि महिलाको हत्या भएको केही वर्ष बितिसक्दाँ पनि हत्यारा पत्ता लगाउन सकेको छैन जस्तै – निर्माला पन्त हत्याकाण्ड, सम्झाना विश्वकर्मा हत्या काण्ड जस्तो घटना त हाम्रो समाजमा देखिएको प्रतिनिधि पात्रका घट्ना मात्र हुन् भने त्यस्ता धेरै घटनाहरु छन्जुन घट्नाहरु कानुनी रुपमा आउन सकेको छैन । कतिपय त्यस्ता घटनाहरु आर्थिक प्रलोभनमा दवाउने र लुकाउने काम हाम्रो घरभित्रै र समाज पनि अछुतो छैन ।

अतः विश्वमान चित्रलाई औल्याउदै महिलामाथि दिएका विश्वव्यापी अन्तर्राष्ट्रिय नीति नियम तथा नेपालको संविधानले दिएको कानुनलाई आत्मासाथ गर्दै नेपाली महिलाहरु आफ्नो हकअधिकारकोलागि निरन्तर अघि बढ्न सक्नुपर्छ । जबसम्म महिलाहरु स्यम आफ्नो अधिकारकोलागि लड्न र संघर्ष गर्न सक्दैन तबसम्म अरुले देला र खाउँदा भनेर बस्नु केवल दिवा सपना मात्र हुनेछ । र अर्को पक्ष यदि समग्र राष्ट्र र समाजको विकास गर्ने हो भने महिला प्रति हेरिने हेपाईको कुदृष्टि पुरुषप्रधान समाजले पनि आफ्नो दिलदिमागबाट परिवर्तन गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार