साथसाथैले जलवायु परिवर्तनका असरबारे सगरमाथाको कालापत्थरबाट विश्वको ध्यानाकर्षण गराईने

 157 पटक हेरिएको

काठमाडौं, २ माघ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जलवायु परिवर्तनका कारण महिलाहरुमा परेको असरका बारेमा ध्यानाकर्षण गराईने भएको छ ।

जलवायु परिवर्तनका असरलाई कसरी रोक्न सकिन्छ भनेर आगामी मार्च ८ मा हुने अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यसबारे विश्व समुदायको ध्यानाकर्षण गराईने भएको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कालापत्थरबाट जलवायु परिवर्तनको असरबारेमा विश्व जगतको ध्यानाकर्षण गराउँदै महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्ध चेतना फैलाउने, शान्तिपूर्ण र समृद्ध समाजको प्रतिनिधित्व गर्दै सातै प्रदेशमा पुग्ने गरी अभियानको थालनी हुने बताइन् ।


उनले कार्यक्रममा बोल्दै भनिन् जलवायु परिवर्तनको पहिलो पिडित महिलाहरु भएका छन् । बढ्दो जलवायु परिवर्तनलाई रोक्न अब हामी एकजुट भएर अघि बढ्नुपर्छ । अध्यक्ष कार्कीले जलवायू परिवर्तनका साथै एनिमल एडप्ट, पर्यटन क्षेत्र, वातावरण र महिलालाई कसरी नेतृत्व तहमा पुराउन सकिन्छ भनेर आफ्रू आबद्ध संस्थाले काम गर्दै आईरहेको बताईन्

कार्यक्रममा सहभागी भएकी सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तनको प्रभाव महिलामा तुलनात्मक रुपमा बढी परेको प्रमाणहरुले नै देखाउने भन्दै यो विषयलाई उजागर गर्ने उद्देश्यले हुन लागेको पदयात्राको स्वागत गरिन्। उनर्ले एक सर्वेक्षणको तथ्यांकलाई औल्याउदै नेपालका ८० प्रतिशत महिलाहरुमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पारेको छ बताईन ।

स्थानीय महिलाका आवाजहरुलाई मुखरित हुने गरी कार्यक्रम गर्न र जलवायु न्याय तथा महिला सशक्तिकरणका पक्षमा न्यायालय सदैव प्रतिवद्ध रहेको पनि उनले बताएकी छन्।
त्यसैगरी उक्त कार्यक्रममा बोल्दै लामो समयदेखि महिला अधिकारका पक्षमा काम गर्दै आएकी वरिष्ठ पत्रकार बन्दना राणाले पनि जलवायु परिवर्तन र न्यायको कुरा गर्दा महिलाहरुको विषय अझैसम्म पनि मुलधारमा आउन नसकेको अवस्थामा महिलाहरुको सहभागितामा उनीहरुको अधिकारका लागि हुन लागेको कार्यक्रम स्वागतयोग्य रहेको बताइन्।

जलवायु विपदजन्य वा जलवायु परिवर्तनका कारण निम्तिरहेका समस्याहरुको अग्रपंक्तिमा महिलाहरु नै पर्ने भएकाले उनीहरुका अनुभवसँगै समाधानका स्थानीय विकल्पहरुको खोजी यात्राको क्रममा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघ सदस्यसमेत रहेकी राणाले जोड दिएकी छन्। उनले विगतका दिनहरुलाई सम्झदै जलवायु परिवर्तन लगायतका कार्यक्रममा महिलाको सहभागिता निकै कम भएको ध्यानाकर्षण समेत गराईन । साथसाथैले गर्न लागेको काम प्रति आफ्नो पूर्ण समर्थन हुने समेत राणाले बताईन ।

एनटिएनसीमा भएको कार्यक्रममा वातावरण तथा संरक्षणविद डा. सिद्धार्थ बज्र बज्राचार्यले जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा तुलनात्मक रुपमा अधिक परेको र त्यसले सो क्षेत्रका महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अवस्थामा जलवायु न्याय मुद्दामा महिलाको अवस्था मुखरित गर्नका लागि कार्यक्रम हुन लागेको बताए।

एनटिएनसीका सदस्य सचिव शरदचन्द्र अधिकारीले जलवायु न्याय र महिला अधिकारलाई जोडेर हुन लागेको कार्यक्रममा सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन्। यस कार्यलाई सफल पार्न राष्टिय प्रकृति संरक्षण कोषले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यसैगरी कार्यक्रममा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि साथसाथैले जलवायु परिवर्तन जस्तो महत्वपूर्ण विषयमा साथसाथैले गर्न लागेकोमा स्वागतयोग्य भएको बताए । उनले यस्ता महत्वपूर्ण कार्यमा मिडिया क्षेत्रबाट सक्दो सहयोग गर्ने जानकारी गराए ।

हिमाल आरोही माया गुरुङले कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको कार्यक्रम सगरमाथा शिविर कालापत्थरमा गर्न लागेकोमा निकै नै खुशी लागेको बताईन् । उनले भनिन् यो विषयमा राज्यको त्यति ध्यान गएको छैन तर साथसाथैले सुरुवात गर्न लागेको कार्यले पक्कै पनि विश्वलाई नयां सन्देश दिनेछ ।

कालापत्थरमा त्यहाँका स्थानीय महिलाहरुसँग अन्तरक्रिया हुने पनि बताइएको छ । अभियानले सातै प्रदेशका महिलाहरुलाई जागरुक बनाउने विश्वास लिइएको छ ।कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत २५ जना महिलाहरुको सहभागिता रहने बताइएको छ । कोभिड संक्रमणको जोखिम कम भएमा अन्य महिलाहरुलाई पनि सहभागी गराईनेछ ।

१३ दिनको पदयात्राको क्रममा स्थानीय महिलाहरुको अवस्था बुझ्नका लागि यात्राको क्रममा नाम्चेमा छलफल गरिने र मार्च ८ मा कालापत्थरमा विशेष कार्यक्रम हुने आयोजकले जनाएको छ। सगरमाथा शिविर यात्रामा नेपालको पहिलो विमान चालक शोनी राणा लगायतका विभिन्न क्षेत्रमा आबद्ध महिलाहरु सहभागी हुनेछ आयोजकले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा साथसाथैले सगरमाथाको कालापत्थर क्षेत्रमा पुगेर जलवायु परिवर्तनलाई रोक्न महिलाहरुले एकै आवाजमा विश्वमाँझ ध्यानाकर्षण गराई सन्देश दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार