सुरु भयो राजधानीमा किम्फको १७ औं शृङ्खला

काठमाडौँ । राजधानीको राष्ट्रिय सभा गृहमा काठमाण्डौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल सुरु भएको छ । यस फेस्टिभलमा स्वदेशी तथा विदेशी फिल्मकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

भ्वाइस फ्रम मार्जिन्स् (सीमान्त आवाज)को ट्यागलाइन राखि डिसेम्बर १५ सम्म फेस्टिभल संचालन हुनेछ । फेस्टिभलमा डकुमेण्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरुको प्रदर्शन भैरहेको छ ।  काठमाण्डौँ महानगरपालिकाको सहआयोजनामा भैरहेको किम्फको १७ औं शृङ्खलाको उद्घाटन सत्रमा बोल्दै फेस्टिभलकी निर्देशक रम्यता लिम्बुले महोत्सवमा देखाइने फिल्म र कार्यक्रमहरुलाई प्रकाश पार्दै यस महोत्सवले युवा फिल्ममेकरलाई प्रोत्साहन गर्ने बताउनुभयो । साथै यस महोत्सवले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने बताउनुभयो ।

एद्घाटन सत्रमा जुरीहरुको परिचय पनि गराइयो । जुरीहरुमा इन्टरनेसनल अलाएन्स फर माउन्टेन फिल्मकी भाइस प्रेसिडेन्ट गाबे्रला कुःन, दक्षिण कोरिया टि.भि. तथा फिल्म निर्देशक लि जाए क्यो, नेपालकी कलाविद् अस्मिना रञ्जित र किम्फका अध्यक्ष बसन्त थापा रहने बताइयो । जुरीहरुले बोल्दै यस्तो महत्वपुर्ण महोत्सवमा जुरी बस्न पाउँदा खुसी लागेको र आफुले पनि यस महोत्सवबाट धेरै कुरा सिक्न सक्ने बताए ।

उद्घाटन सत्रमा बोल्दै किम्फका अध्यक्ष बसन्त थापाले यस बर्ष धरै राम्रा राम्रा फिल्म भएको बताउनु भयो । साथै ६९ देशबाट ४२० फिल्म प्राप्त भएको कुरा जानकारी गराउँदै किम्फको क्रियाकलापहरुको व्याख्या गर्नुभयो । त्यसपछि सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले सन् १९५३ मा सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको डकुमेन्ट्रिबाट महोत्सवको सुरुवात गरियो ।

यसपटकको महोत्सवमा ओपन सोसाइटी फाउण्डेसनले नेपाली युवा फिल्ममेकरहरुलाई प्रोत्साहन गर्न परिवर्तित नेपाल शीर्षकमा लघुफिल्म प्रतियोगिता आयोजना गर्ने र प्रतियोगितामा उत्कृष्ट तिन लघुफिल्मलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार दिइने अध्यक्ष थापाले बताउनुभयो । किम्फमा यसपाली निकै आकर्षक विषयवस्तु र विभिन्न कार्यक्रमहरु समावेश गरिने फेस्टिभलकी निर्देशक रम्यता लिम्बुले बताउनुभयो । महोत्सवकै अवसरमा सर एडमण्ड हिलारीको शतवार्षिकी पनि मनाइने र हिलारीको बारेमा बनेका डकुमेन्ट्रि पनि देखाइने लिम्बुले बताउनुभयो ।

उत्कृष्ट मध्ये दुई लाख रुपैयाँको पहिलो पुरस्कार नेपाल पर्वतारोहण सङ्घले, डेढ लाख रुपैयाँ दोस्रो पुरस्कार दीपलक्ष्मी फाउण्डेशनले र एक लाखको तेश्रो पुरस्कार स्वीट्जरल्याण्डकी फ्रेडी–उर्सुला वुहल्याण्डले प्रायोजन गरेका हुन् ।

नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट डकुमेण्ट्रीलाई ७५ हजारको नगद पुरस्कार नेपाल चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ भने उत्कृष्ट कथानक फिल्मलाई दिइने एक लाख रुपैयाँ राशि बराबरको पुरस्कार तथा त्छेकी शेर्पा पुरस्कारको प्रायोजन मिला प्रोडक्सनले गर्ने बताइएको छ । त्यस्तै गरि अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले अडियन्स अवार्डअन्तर्गत ७५ हजार रुपैयाँको प्रायोजन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार