डिजीपे टि-सिरिज स्टेज वर्क्स “ट्यालेन्ट हन्ट” ले पायाे विजेता

  आयोमेल  186 पटक हेरिएको

काठमाडौं । अन्ततः लगभग तीन महिना लामो प्रतिक्षाको घडी समाप्त भएको छ। नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो डिजी पे टि सिरिजि स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ ले विजेता प्राप्त गरेको छ ।

नेपालका लागि आधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शोका विजेताहरूको घोषणा नाइस टेलिभिजन एचडीमा प्रशारण भएको थियो। आयोजकका अनुसार स्याटेलाइट टिभीबाट नेट टिभी, डिस होम, प्रभु टिभी, मेरो टिभी र क्लियर टिभीबाट पनि कार्यक्रम प्रशारण भएको थियो ।

क–कसले मारे बाजी?

ट्यालेन्ट हन्टमा नौ प्रतिस्पर्धीले बाजी मारेका छन्। १ सय २० प्रतियोगीबीच कडा प्रतिस्पर्धा हुँदै करिब तीन महिनादेखि यो शो सञ्चालन भइरहेको थियो। गायन, अभिनय र नृत्य गरी तीन विधा प्रत्येकबाट तीन–तीनजना विजेता घोषित भएका हुन् ।

आयोजकका अनुसार गायन विधातर्फ काठमाडौं रातोपुलका अभिषेक बराइली विश्वकर्मा प्रमुख विजेता बन्न सफल भएका छन्। त्यसैगरी दोस्रो स्थान ओगट्न सफल मधुमारा विराटनगरकी मनिषा पोखरेलले ‘डिजी पे पपुलर च्वाइस अवार्ड’ प्राप्त गरिन्। तेस्रो स्थान हासिल गर्न सफल माङ्सेबुङ इलामका छोट्लुङ हाङ लिम्बुले ‘काइजेन इन्क सोसल मिडिया अवार्ड’ हात पारेका छन् ।

त्यसैगरी अभिनय विधातर्फ काठमाडौं मैतिदेवीका विनोद चौधरी प्रमुख विजेता बनेका छन्। उनीसँग कडा प्रतिस्पर्धा गरेका जनकपुरका सुदीप पटेलले दोस्रो स्थान हासिल गर्दै ‘डिजी पे पपुलर च्वाइस अवार्ड’ हात पारे भने ‘काइजेन इन्क सोसल मिडिया अवार्ड’ प्राप्त गरी काठमाडौं कालिमाटीका सिद्धार्थ सिंह तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

त्यस्तै नृत्य विधाको प्रमुख विजेताको पदवी दार्चुला खलंगाका रमेश तिंकरीको हातमा परेको छ। उनीसँग कडा प्रतिस्पर्धा गरेकी काठमाडौं जोरपाटीकी रेणुका तामाङले दोस्रो स्थान हासिल गर्दै ‘डिजी पे पपुलर च्वाइस अवार्ड’ हात पारिन् भने ‘काइजेन इन्क सोसल मिडिया अवार्ड’ प्राप्त गरी झापा बिर्तामोडकी मौनता प्रसाईं तेस्रो स्थानमा पर्न सफल भइन् ।

 

विजेताले के पुरस्कार पाउँछन्?

तीनवटै विधाका प्रमुख विजेताले भारतस्थित टि सिरिज स्टेज वर्क्स गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रत्येक प्रमुख विजेताले सतप्रतिशत छात्रवृत्ति, दोस्रो स्थान हासिल गर्ने प्रत्येकले ७५ प्रतिशत छात्रवृत्ति र तेस्रो स्थान हासिल गर्ने प्रत्येकले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्। विजेताहरूले संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा छात्रवृत्ति पाउनेछन्। विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने आयोजकको भनाइ छ ।


‘सबै विजेताहरूले टि सिरिज स्टेज वर्क्स गुहावटीमा अब खुल्ने नयाँ सेमेस्टरमा भर्ना हुन पाउनेछन्,’ काइजेन इन्ककी कार्यकारी अधिकृत सुष्मा मानन्धरले भनिन्, ‘त्यहाँ पढ्न गएपछि सबै विजेताले आफूसँग रहेको कला थप तिखार्न पाउनेछन् ।’

ट्यालेन्ट हन्टको ‘ग्रान्ड फिनाले’ गत कात्तिक ५ गते राति प्रत्यक्ष प्रशारण भएको थियो। गत भदौ ११ गते ‘ग्रान्ड प्रिमियर’ भएको यो शोमा सहभागी सयौं प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो ।

भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क्स गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा यो रियालिटी शो सञ्चालन भइरहेको थियो ।

आयोजकका अनुसार ग्रान्ड फिनालेमा अभिनय, नृत्य र गायन गरी तीन विधा प्रत्येकबाट चार–चार गरी १२ जना प्रतियोगीबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रत्येक विधाबाट एक–एकजना उत्कृष्ट प्रतियोगी विजेता घोषित भएका हुन् ।

ग्रान्ड फिनालेमा पुगेर आफ्नो प्रस्तुति पस्किसकेका प्रतियोगीलाई भोट हाल्न पाइने म्याद कात्तिक १७ सम्म थियो। डिजी पे एप डाउनलोड गरी एक भोट नि:शुल्क हाल्न पाइन्थ्यो ।

‘झन्डै तीन महिना लामो प्रतिक्षा सकिएको छ। कार्यक्रम सुरु गर्दा सामान्य नै हुने अनुमान थियो,’ डिजिटल पेमेन्टको क्षेत्रमा दरिलो बजार हिस्सा ओगट्न सफल कम्पनी डिजी पे मुख्य प्रायोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगिताबारे डिजी पेका अध्यक्ष दिवाकर पाण्डेले भने, ‘तर, प्रतियोगिता हामीले सोचेभन्दा धेरै नै उत्कृष्ट भयो। हामीसँग जोडिएका सबै एसोसिएट खुसी छन्। त्यसमाथि दुरदराजमा लुकेर बसेका प्रतिभा विजेता बन्नु सबैका लागि गौरवको विषय हो। सबै विजेतालाई शुभकामना छ ।’

संसारभरि छरिएर रहेका नेपाली तथा नेपालीभाषी जसले आफूभित्र लुकेको प्रतिभा विभिन्न कारण देखाउन पाएका थिएनन्, उनीहरूका लागि यो शो धेरै नै महत्वपूर्ण प्लेटफर्म साबित भएको पाण्डेको भनाइ छ। ‘यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको मुख्य प्रायोजक हुन पाउँदा हामी पनि उत्साहित थियौं,’ उनले भने ।

उनका अनुसार प्रतियोगितामा काठमाडौं बाहिरका प्रतिभा धेरै संख्यामा सहभागी थिए। नेपालबाहेक बेल्जियम, अस्ट्रेलिया, बेलायत लगायत देशबाट पनि नेपालीभाषी प्रतियोगी सहभागी थिए। त्यसबाहेक इजिप्टबाट निशा पाठकले कार्यक्रमको अनलाइन होस्ट गरेकी थिइन्। यस्ताे युनिक अनलाइन प्रतियाेगिताकाे होस्टिङ विदेशबाट गर्नु आफैंमा एउटा सफलताकाे मानक हाे ।

४० निर्णायक भएको पहिलो कार्यक्रम

यो ट्यालेन्ट हन्ट यस्तो कार्यक्रम बन्न पुग्यो कि ४० जना निर्णायक भएको सम्भवतः संसारकै पहिलो कार्यक्रम बन्न पुगेको आयोजकको दाबी छ। कार्यक्रममा अभिनय, गायन र नृत्य विधामा वरिष्ठ र दिग्गज कलाकार निर्णायकका रूपमा उपस्थित थिए ।

‘एउटै कार्यक्रममा सबैभन्दा धेरै संख्यामा निर्णायक भएको यो सम्भवतः संसारकै पहिलो अनलाइन रियालिटी शो हो,’ डिजी पेका अध्यक्ष पाण्डे भन्छन्, ‘त्यसकारण यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराए पनि केही फरक पर्नेछैन ।’

प्रतियोगितामा ३ सयभन्दा बढी भिडियो

ट्यालेन्ट हन्टमा ३ सयभन्दा बढी संख्यामा भिडियो प्राप्त भएका थिए ।

तीमध्येबाट १ सय २० जना छनोट भएका थिए। उनीहरूबीच कडा प्रतिस्पर्धा हुँदै हुँदै गायन, अभिनय र नृत्य विधा प्रत्येकमा एक–एकजना प्रमुख विजेता बनेका हुन् भने दोस्रो र तेस्रो स्थानमा पनि एक–एकजना विजेता घोषित भएका हुन् ।

प्रतियोगिताका विशेषता

आयोजकका अनुसार हाल नेपालमा सञ्चालनमा रहेका जति पनि रियालिटी शो छन्, ती सबै मञ्चमै उभिएर प्रतिस्पर्धा गर्नुपर्ने खालका छन्। तर, डिजी पे टि सिरिज स्टेज वर्क्स ट्यालेन्ट हन्ट यस्तो कार्यक्रम भयो जसमा प्रतियोगीले आफ्नै घर, आँगन, कोठा, कौसी वा अन्य जुनसुकै ठाउँमा बसेर आफ्नो प्रतिभा प्रस्तुतिको भिडियो बनाउन सक्थे र त्यसलाई अनलाइनमार्फत पठाउन सक्थे ।


त्यसरी प्राप्त भिडियोलाई आयोजकले सौन्दर्यीकरण गर्ने काममात्र गरेका थिए। प्रतियोगिताभरिमा २ सयभन्दा धेरै भिडियो कन्टेन्ट तयार भएको थियो ।

‘त्यसबाहेक सामाजिक सञ्चालभरि टि सिरिज स्टेज वर्क्सको लहर नै चल्यो,’ डिजी पेका अध्यक्ष पाण्डेले भने, ‘यसबाट हामी धेरै नै हौसिएका छौं। समग्रमा भन्नुपर्दा यो ट्यालेन्ट हन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन पुगेको छ ।’

काइजेन इन्कका कार्यकारी अधिकृत मानन्धरका अनुसार ट्यालेन्ट हन्टले नेपाली गायन, अभिनय र नृत्य विधाको क्षेत्रमा एकखालको सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ। नेपालबाट मात्र नभई संसारभरि छरिएर रहेका नेपालीभाषीले पठाएका आफ्ना प्रतिभाका भिडियोको संख्याबाट पनि यो ट्यालेन्ट हन्ट शोको प्रभावकारिता र विश्वसनियता पुष्टि भइसकेको छ ।

आयोजकका अनुसार यो ट्यालेन्ट हन्टमा छात्रवृत्ति जितेर भारत पढ्न जाने विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने उच्च सम्भावना छ ।

यसका कारण टि सिरिजका नृत्य, गायन, अभिनयलगायत उत्पादनमा टि सिरिज स्टेज वर्क्सका होनहार विद्यार्थीहरूलाई मौका दिने गरिन्छ । त्यसैले यो प्रतियोगिताको नारा ‘टिकेट टु बलिउड’ रहेको थियो ।

Singing Category Winners:



Dancing Category Winners:



Acting Category Winners:



समाचार: आयोमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार