आज कांग्रेसका ६० जिल्लामा पालिका अधिवेशन हुँदै

आजनै काभ्रे र डडेलधुरा पनि अधिवेशन हुने

 

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि पालिका अधिवेशन सुरु हुने भएको छ । हालसम्म वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा आजबाट पालिका अधिवेशन प्रारम्भ भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वडा अधिवेशन सम्पन्न भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि पालिका अधिवेशन सुरु भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए । काठमाडौंमा भने वडा अधिवेशनको मत परिणाम प्राप्त भइनसकेकाले आज पालिका अधिवेशन सुरु गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए ।

काठमाडौंमा पालिका अधिवेशन १६ असोज लागि तय गरिएको उनले जानकारी दिए । काठमाडौंको वडा अधिवेशन ५ असोजमा सुरु भएको थियो । क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश-२ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक यादवले जानकारी दिए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।

आजनै काभ्रे र डडेलधुरा पनि अधिवेशन हुने
विवादका बीच वडा अधिवेशन सम्पन्न भएका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा, काभ्रेलगायतका जिल्लामा पनि आजै पालिका अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ । ५२ वडामध्ये एक वडा बाहेक सबैमा वडा अधिवेशन सम्पन्न भएको डडेलधुरामा आजै पालिका अधिवेशन सुरु हुने तयारी गरिएको निर्वाचन अधिकृत लोकेन्द्र वमले जानकारी दिए ।

नवदुर्गा गाउँपालिका–५ मा भने वडा अधिवेशन भएको छैन । बाँकी सबै पालिकामा आजै निर्वाचन सुरु हुने उनले बताए । डडेलधुरमा क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै जिल्ला पार्टी सभापति कर्ण मल्लसहितका नेताहरूले विरोध जनाउँदै नेताहरू आमरण अनशनमा बसेका छन् ।

यस्तै काभ्रेमा पनि आजै पालिका अधिवेशन सुरु हुने निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिए । का‌ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले पालिका अधिवेशनको अघिल्लो दिन शुक्रबार निर्वाचन अधिकृत लामिछाने बिनासूचना बेपत्ता भएको भन्दै पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका थिए । निर्वाचन अधिकृत लामिछानेले भने सवै वडामा अधिवेशन सम्पन्न भइसकेकाले आजै पालिका अधिवेशन सुरु हुने बताए ।

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले वडा अधिवेशन सम्पन्न भएका करिब ६० जिल्लामा आजबाट पालिका अधिवेशन सुरु हुने जानकारी दिए । ‘केही जिल्लाका उजुरी निर्वाचन समितिमा परेका छन्, रामेछाप, नुवाकोटलगायतका जिल्लाका उजुरीको हिँजै समाधान भइसेको छ,’ उनले भने, ‘बाँकी उजुरीको पनि आज समाधान हुन्छ ।

कांग्रेसले वडा अधिवेशन गत १८ भदौदेखि सुरु गरेको थियो । पालिका अधिवेशन आज , प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा तय गरेको गरिएको थियो ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोजमा, प्रदेश अधिवेशन १०–१२ कार्तिक र केन्द्रीय महाधिवेशन आगामी ९–१३ मंसिरमा काठमाडौंमा गर्ने तय गरिएको थियो । क्रियाशील सदस्यताको विवाद समयमै टुंगो लगाउन नसक्दा कांग्रेसको निर्वाचन कार्यतालिका सातपटक परिमार्जन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार